नामिबियाको जितसँगै नेपालको पाँचौं स्थानमा पुग्ने सम्भावना टर्यो, सातौंमा झर्ने जोखिम कायमै
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत डल्लासमा सम्पन्न खेलमा नामिबियाले घरेलु टोली अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै नेपालको पाँचौँ स्थानमा उक्लिने सम्भावना पनि टरेको छ।
नामिबियाको यो जितसँगै लिग-२ को अंकतालिकामा नेपालले पाँचौं स्थान हासिल गर्ने गणितीय बाटो पूर्ण रूपमा बन्द भएको हो। नामिबियाले आफ्ना सबै ३६ खेल खेल्दै ३३ अंकसहित प्रतियोगिताको यात्रा टुङ्ग्याएको छ।
यदि उक्त खेलमा अमेरिकाले नामिबियालाई पराजित गरेको भए नामिबिया ३१ अंकमै सीमित हुने थियो। त्यस्तो अवस्थामा नेपालले लिगको आफ्नो अन्तिम त्रिकोणात्मक सिरिजमा क्यानडा र ओमानसँगका बाँकी दुवै खेल जितेको खण्डमा ३२ अंक बटुल्दै नामिबियालाई पछि पारेर पाँचौं स्थानमा उक्लिन सक्थ्यो।
तर, अमेरिकाविरुद्ध २ अंक खोसेपछि नामिबियाको ३३ अंक पुगेको छ। अब नेपालले आफ्ना बाँकी दुवै खेल जिते पनि अधिकतम ३२ अंक मात्र जोड्न सक्नेछ, जुन नामिबियाभन्दा १ अंक कम हो।
छैटौं स्थान जोगाउने दबाब, सातौंमा झर्ने जोखिम
पाँचौं स्थानको ढोका बन्द भएपछि अब नेपालको ध्यान कम्तीमा छैटौं स्थान सुरक्षित गर्नमा केन्द्रित हुनेछ। हाल ३४ खेलबाट २८ अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा छ।
नेपालले अब क्यानडा र ओमानविरुद्धका बाँकी दुई खेलमध्ये कुनै एक खेलमा मात्र जित हात पारे पनि छैटौं स्थान पक्का गर्दै प्रतियोगिता सकाउनेछ।
तर, नेपाल आफ्ना दुवै खेलमा पराजित भएमा र सातौं स्थानमा रहेको क्यानडाले आफ्ना बाँकी दुवै खेल (ओमान र नेपालविरुद्ध) जितेमा भने समीकरण उल्टिनेछ। यस्तो अवस्थामा क्यानडाको २९ अंक पुग्नेछ र नेपाल २८ अंकमै रोकिँदै सातौं स्थानमा झर्ने जोखिम रहनेछ। क्यानडाको हाल ३४ खेलबाट २५ अंक छ।
नामिबियाको जितमा स्टिनक्याम्पको शतक
ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले दिएको २७८ रनको लक्ष्य नामिबियाले ९ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो। नामिबियाको जितमा प्लेयर अफ द म्याच लरेन स्टिनक्याम्पले ११४ बलमा ७ चौका र ३ छक्काको मद्दतले १०२ रनको शतकीय योगदान दिए। यस्तै कप्तान जेरार्ड इरास्मसले १०२ बलमा ९५ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७७ रन जोडेको थियो। उसका लागि शेहान जयसूर्याले ७६, शयान जहांगिरले अविजित ७३ तथा हरमित सिंहले अविजित ५४ रन बनाएका थिए।
असोज २८, २०८३ बुधबार ०७:४०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।