कांग्रेस रूपान्तरणका लागि विश्वप्रकाशको प्रस्ताव : व्यक्तिको दोष संस्थालाई नबोकाउने संकल्प

कांग्रेस रूपान्तरणका लागि विश्वप्रकाशको प्रस्ताव : व्यक्तिको दोष संस्थालाई नबोकाउने संकल्प

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र र समग्र नेपाली राजनीतिमा देखिएको लोकतान्त्रिक संस्कृतिको क्षय रोक्दै युगानुकूल राजनीतिक रूपान्तरण आवश्यक रहेको प्रस्ताव अघि सारेका छन्।

कांग्रेसको १५ औँ महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा शर्माले राजनीतिक प्रणालीसँगै दल, नेतृत्व र कार्यकर्ताको संस्कार तथा व्यवहारमा समेत रूपान्तरण हुनुपर्ने उल्लेख गरेका छन्। 

पार्टीले विगतका कमजोरीप्रति सर्वप्रथम स्वयं आत्मालोचना गर्दै लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणका लागि पहल गर्नुपर्नेमा उनको जोड छ।

लोकतान्त्रिक प्रणालीलाई केवल आवधिक निर्वाचनमा सीमित गर्न नहुने भन्दै शर्माले नागरिकको प्रश्न, जवाफदेहिता, विधिको शासन र संस्थाको मर्यादालाई लोकतन्त्रको प्राणका रूपमा व्याख्या गरेका छन्।

उनले व्यक्तिको गल्ती वा कानुन उल्लंघनको भार पार्टी संस्थाले नबोक्ने स्पष्ट नीति लिनुपर्ने प्रस्ताव गरेका छन्। कुनै पनि नेता वा कार्यकर्ता कानुन उल्लंघनको मुद्दामा जोडिए व्यक्तिगत रूपमा कानुनी प्रक्रियाको सामना गर्नुपर्ने, तर आरोपकै भरमा निर्दोष फस्न नहुने र पहुँचका आधारमा दोषीले राजनीतिक संरक्षण पाउन नहुने उनको भनाइ छ।

प्रस्तावमा भनिएको छ, "जहाँ चुक्नेछौं, त्यहीँ सच्याउने छौं। यो हाम्रो संस्थागत संकल्प १५ औँ महाधिवेशनबाट पारित गर्दैछौं। हामी प्रष्ट छौं र प्रष्ट रहनेछौं, कि व्यक्तिको दोष हामी संस्थालाई बोकाउन्नौं।"

नेतृत्वलाई ‘जमेको पोखरी’ नभई ‘बगिरहने नदी’ जस्तो गतिशील बनाउनुपर्ने उल्लेख गर्दै शर्माले निश्चित समय र औचित्यपछि नेतृत्वले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुपर्ने बताएका छन्। 

पटक पटक एउटै नेतृत्व दोहोरिँदा नागरिकमा वितृष्णा बढ्ने र विगतका सकारात्मक योगदानसमेत ओझेलमा पर्ने भएकाले यसलाई विधान, संविधान र लोकतान्त्रिक संस्कारबाट बाँध्नुपर्ने उनको प्रस्ताव छ। यसै सन्दर्भमा शासकीय नेतृत्वका हकमा पूर्वप्रस्तावित ‘१/२/३/४’को नीतिलाई कार्यान्वयन गर्दै संविधानको अंग बनाउन पहल गर्ने प्रतिबद्धता प्रतिवेदनमा गरिएको छ।

पछिल्लो ३५ वर्षमा देशमा केही भएन भन्ने भाष्य तथ्यपरक नरहेको दाबी गर्दै उनले भोटेकोसी बाढीमा क्षतिग्रस्त सडक, पुल तथा जलविद्युत् आयोजनाहरू यसै अवधिमा बनेको उदाहरण प्रस्तुत गरेका छन्। पञ्चायतले छाडेको २७७ मेगावाटबाट विद्युत् उत्पादन तीन हजार ५०० मेगावाट पुगेको र गत वर्ष मात्र १८ अर्ब रुपैयाँ खुद नाफा कमाएको तथ्याङ्क राख्दै उनले सशस्त्र द्वन्द्व, भूकम्प र महामारीका बाबजुद उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका छन्। 

साथै, उनले पृथ्वीनारायण शाहदेखि मदन भण्डारीसम्मका सकारात्मक योगदानको कदर गर्ने उदार लोकतान्त्रिक संस्कार आवश्यक रहेको औँल्याएका छन्।

शर्माले राजनीतिमा वंश वा विरासतभन्दा विचारलाई प्रधान बनाउनुपर्ने र गुटको विकल्प विचार तथा नीति बहस हुनुपर्नेमा जोड दिएका छन्। उनले पार्टी रूपान्तरणका लागि ‘१५ गर्ने र १५ नगर्ने’ संकल्प अघि सारेका छन्।

राजनीतिक नियुक्तिमा ‘इन्टिग्रिटी भेटिङ सिस्टम’ लागू गर्ने, उम्मेदवार चयनका लागि ‘इलेक्सन ब्युरो’ र ‘प्राइमरी’ निर्वाचनको अभ्यास गर्ने, दल परिवर्तनमा ‘कुलिङ पिरियड’ को कानुनी व्यवस्था गर्ने तथा ‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्दै कार्यकर्तालाई उत्पादनसँग जोड्ने विषय समेटिएका छन्।

शर्माले आगामी दिनमा चुनाव जित्ने तयारीलाई दोस्रो प्राथमिकतामा राखी नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्। 

असोज १९, २०८३ सोमबार १८:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।