कांग्रेस महाधिवेशन : गगन थापाको १७ बुँदे ‘के गर्ने, के नगर्ने’ आचारसंहिता प्रस्ताव

कांग्रेस महाधिवेशन : गगन थापाको १७ बुँदे ‘के गर्ने, के नगर्ने’ आचारसंहिता प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताका लागि राजनीतिक मर्यादा र आचरणको मापदण्ड समेटिएको ‘के गर्ने, के नगर्ने’ प्रस्ताव अघि सारिएको छ।

काठमाडौंमा जारी महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको खण्ड ९.७ मा १७ बुँदे आचारसंहितामा पार्टीले अबदेखि गर्ने र नगर्ने कामको उल्लेख गरिएको छ।

उक्त प्रस्तावमा सार्वजनिक नियुक्तिहरू दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका आधारमा नभई समावेशिता, योग्यता, क्षमता र इमानदारीका आधारमा गरिने उल्लेख छ। साथै, संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ व्यवस्था अघि सार्ने कांग्रेसको प्रस्ताव छ। त्यस्तै, सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्ने तथा स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ।

भ्रष्टाचार र न्याय प्रणालीको निष्पक्षताप्रति प्रतिबद्धता जनाउँदै कांग्रेसले आरोपित व्यक्तिलाई पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। आफ्नै दलका नेता-कार्यकर्ता मुछिए पनि निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षणलाई निरन्तरता दिन दिइने प्रस्तावमा उल्लेख छ।

कांग्रेसले महिला, युवा तथा पछाडि पारिएका समुदायको नीति र नेतृत्वमा वास्तविक प्रभाव बढाउने र साधारण सदस्यहरूलाई चुनाव परिचालनमा मात्र सीमित नराखी नीति र उम्मेदवार छनोटमा अर्थपूर्ण सहभागिता गराउने कांग्रेसको योजना छ।

यसैगरी, आगामी निर्वाचनहरूमा चुनावी गठबन्धन नगर्ने, गुट, पैसा वा पहुँचका आधारमा नभई उम्मेदवार छनोटमा 'प्राइमरी' निर्वाचन, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई मुख्य आधार बनाउने नीति लिइएको छ। 

असोज १९, २०८३ सोमबार १५:५२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।