महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ ऊर्जा र दृष्टिकोणसहितको नयाँ यात्राको सुरुवात भएको बताएका छन्।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि कांग्रेस अझ सङ्गठित, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेट्ने बलियो शक्तिका रूपमा अगाडि आउने दाबी गरे।

शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले देशका हरेक राजनीतिक संकट र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराए। जननायक बीपी कोइरालाको विचार र लोकतान्त्रिक सङ्घर्षलाई नयाँ पुस्ता (जेनेजी) सँग जोडेर लैजानु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए।

सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असर, मधेस आन्दोलनका बाँकी सवाल र जेन्जी पुस्ताले उठाएका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए। साथै, विदेशमा रहेका नेपालीहरूको नागरिकता, लगानी र अधिकार सुरक्षित गर्दै देशभित्र र बाहिर रहेका नेपालीलाई जोड्ने नीति राज्यले ल्याउनुपर्ने बताए। 

"नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ," शर्माले भने, "विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।"

राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ। जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए।

पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दै गएको आक्रोशप्रति चिन्ता व्यक्त गर्दै शर्माले अहिलेको समाजलाई आक्रोश नभई संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए। भूगोलसँगै नेपालीको मन जोड्नुपर्ने दायित्व राजनीतिक दलहरूको रहेको उनको भनाइ छ।

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा पार्टी नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा कुल ३५ हजार प्रतिनिधिमध्ये ठूलो सङ्ख्या युवाहरूको हुनुले पार्टीमा नयाँ ऊर्जा थपेको बताए।

"यो यात्राको सुरुवात हो। महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौँ," शर्माले भने।

परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उनले बताए। महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने शर्माको भनाइ छ।

 

असोज १८, २०८३ आइतबार १७:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।