देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : राजेन्द्र लिङ्देन

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यक्ति वा पात्र परिवर्तन गर्दैमा देशको विद्यमान समस्या समाधान नहुने बताएका छन्।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे।

६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र निकास ननिस्कने पुष्टि गरेको बताउँदै लिङ्देनले भने, "समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ। यो संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।"

अध्यक्ष लिङ्देनले विगतको 'निषेधको राजनीति' ले मुलुकलाई बर्बादीतर्फ धकेलेको टिप्पणी गरे। हिजो राजाले दललाई र दलहरूले राजालाई निषेध गर्दाको परिणति आज देशले भोगिरहेको उल्लेख गर्दै उनले अबको एक मात्र बाटो 'राष्ट्रिय सहमति' भएको जिकिर गरे।

कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सहिष्णुताको खस्कँदो अवस्थाबारे चर्चा गर्दै भने, "हिजो गलत कुराको विरोध गर्दा गोली आउँथ्यो भने आज सामाजिक सञ्जाल आउँछ।"

देशलाई सही राजनीतिक लिगमा फर्काउन र समृद्ध बनाउन राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर नयाँ शिराबाट राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनको प्रस्ताव छ।

"देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ", लिङ्देनले चेतावनी दिँदै भने, "अहिले देश लिग बाहिर गएको छ। देशलाई बचाउन र समृद्ध बनाउन अब नयाँ शिराबाट राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ।"

लिङ्देनले नेपाली कांग्रेसको महाधिवेशनले मुलुकको यो गम्भीर परिस्थिति बुझेर सही मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।

असोज १८, २०८३ आइतबार १७:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।