नयाँ पुस्तालाई विश्वास गरौँ : डा. बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजनीतिक स्थिरता र तीव्र विकासका लागि अब पुराना दलहरूले नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले विगतका गल्तीहरूबाट पाठ सिक्दै नेतृत्व र राजनीतिमा युवा पुस्ताको भूमिकालाई स्वीकार्नुपर्नेमा जोड दिएका हुन्।
"अब पाठ सिकौं। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ," भट्टराईले भने।
देशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिहरूको उदय र नेपाली कांग्रेसभित्र भइरहेको रूपान्तरणप्रति खुसी व्यक्त गर्दै उनले भने, "१२ वर्षपछि आज म स्मरण गर्न चाहन्छु, नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ, र कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ। यो देख्दा मलाई खुसी लागेको छ।"
कार्यक्रममा भट्टराईले मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनजस्ता देशहरू विकासको शिखरमा पुगेजस्तै नेपाललाई पनि आगामी २० वर्षभित्र समृद्ध बनाउन एउटा साझा योजना बनाउनुपर्ने र त्यसमा दलहरूबीच कार्यान्वयनको प्रतिस्पर्धा हुनुपर्ने बताए।
"अहिले पनि समय छ, सबैले सोच्नुस्। अरु देश कसरी विकास भए? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरूले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने?", भट्टराईले सम्बोधनको क्रममा थपे, "त्यसको एउटा योजना बनाऔं। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौं। त्यसो गरे मात्रै देश बन्छ।"
सम्बोधनका क्रममा डा. भट्टराईले शान्ति प्रक्रियामा आएलगत्तैको प्रसङ्ग स्मरण गर्दै १२ वर्षअघि एक विदेशी पत्रकारले कांग्रेसको भावी नेतृत्वबारे सोधेको प्रश्नमा आफूले गगन थापाको नाम लिएको समेत बताए। साथै, उनले रास्वपा सभापति रवि लामिछानेलाई पूरै कार्यकाल सरकार चलाउन शुभकामना पनि दिए।
असोज १८, २०८३ आइतबार १७:०१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।