कैला जुँगा भएका पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् - रेशम चौधरी

कैला जुँगा भएका पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन् - रेशम चौधरी

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक एवं संरक्षक रेमशलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने कुनै छनक नदेखाएको भन्दै र्तमान राजनीतिक नेतृत्व र पुस्ताको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। 

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले विगतमा पाका नेताहरूले देश बिगारेको गुनासो गरिए पनि अहिलेका काला कपाल र जुँगा भएका युवा नेताहरूले समेत आशलाग्दो काम गर्न नसकेको बताए। 

"हिजो सबै कपाल फुलेर आफूलाई युवा भन्ने नेताहरूले देश बिगारे भन्ने गरिन्थ्यो, तर अहिले पूरै कैला जुँगा भएका पूरै कपाल काला भएकाले पनि पनि देश बनाउने छनक देखाएका छैनन्," चौधरीले भने।

विगत र वर्तमानका नेताहरूप्रति असन्तुष्टि जनाए पनि उनले गगन थापाजस्ता मध्यमार्गी पुस्ताप्रति भने अझै आशा बाँकी रहेको बताए। "अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ," चौधरीले भने।

सम्बोधनका क्रममा उनले १९ दिने दोस्रो जनआन्दोलनको स्मरण गर्दै पहिचान र धर्मको विषयमा कांग्रेस नेतृत्वलाई प्रश्न समेत गरे। आन्दोलनमा आफूहरूले पनि लाठी र पानीको फोहरा खाएर गणतन्त्र ल्याउन योगदान पुर्याएको उल्लेख गरे।

चौधरीले भने, ‘गगनजी, त्यो आन्दोलनमा हामीले पनि लाठी खायौँ। पानीको फोहरा खायौँ। देशमा गणतन्त्र ल्यायौँ। तर, एउटा अनौठो संयोग छ । १९ दिने आन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?"

उनले पहिचानसँग कुनै पनि कुरा साट्न नपाइने समेत उल्लेख गरे। चौधरीले थपे, ‘हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरासँग कुनै चिजको साटफेर गर्नेवाला छैनौँ।"


 

असोज १८, २०८३ आइतबार १६:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।