पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनस्थलमा प्रवेश गर्दै प्रतिनिधिहरूको र्‍याली

पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनस्थलमा प्रवेश गर्दै प्रतिनिधिहरूको र्‍याली

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्।

महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता-कार्यकर्ता तथा प्रतिनिधि समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आ-आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्।

पञ्चेबाजासहितको र्यालीमा सहभागी नेता-कार्यकर्ताले पार्टीका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता-कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा शुभेच्छुक सहभागी हुँदै छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रमसमेत तय गर्नेछ।

असोज १८, २०८३ आइतबार १४:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।