कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवा सहभागितादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन विगतका महाधिवेशनभन्दा सांगठनिक संरचना, प्रतिनिधित्व र कार्यशैलीका हिसाबले फरक हुने भएको छ।
विशेष महाधिवेशनबाट संशोधन गरिएको विधान कार्यान्वयन गर्दै पार्टीले युवा, महिला, विज्ञ तथा विभिन्न समुदायको सहभागिता सुनिश्चित गर्नुका साथै प्रचार र सञ्चालन पद्धतिमा १८ वटा प्रमुख नयाँ अभ्यास अघि सारेको छ।
५औँ महाधिवेशनमा कांग्रेसले नेतृत्व संरचनामा ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ। यससअन्तर्गत केन्द्रीय कार्यसमितिमै ३५ वर्षमुनिका २१ जना युवा निर्वाचित हुने व्यवस्था गरिएको छ।
त्यसैगरी वडादेखि केन्द्रसम्मका सबै तहमा कम्तीमा एकतिहाइ महिला सहभागिता अनिवार्य गरिएको छ। नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति कुल २३२ सदस्यीय बन्नेछ, जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन्। समावेशी प्रतिनिधित्वलाई थप सन्तुलित बनाउन सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको छ।
पार्टीले राजनीतिबाहेक विभिन्न पेसा र व्यवसायमा विज्ञता हासिल गरेका व्यक्तिलाई सोझै नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’मार्फत सात जना केन्द्रीय सदस्य निर्वाचित हुने बाटो खोलेको छ। यसैगरी विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट छ जना र अपाङ्गता भएका, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व पनि केन्द्रीय समितिमा समेटिने व्यवस्था गरिएको छ।
महाधिवेशन सञ्चालनतर्फ यसपटक गुटगत प्यानल बनाएर चुनाव लड्ने अभ्यासलाई निरुत्साहित गर्दै प्रतिनिधिहरूलाई स्वविवेक प्रयोग गर्न भनिएको छ। काठमाडौंको खुलामञ्चमा महाधिवेशनका उद्घाटन र बन्दसत्र दुवै आयोजना गरिनेछ। व्यवस्थापनलाई सहज बनाउन 'हिमाल', 'पहाड' र 'तराई-मधेश' नामकरण गरिएका तीनवटा ठूला संरचनामा करिब सात हजार प्रतिनिधिलाई समूहगत रूपमा विभाजन गरी दस्तावेजमाथि बहस गराइने पार्टीले जनाएको छ।
कागजी निर्भरता घटाउन प्रतिवेदनहरू डिजिटल रूपमा उपलब्ध गराइनेछ भने छलफलमा उठेका सुझावहरूको अभिलेख राखिनेछ। प्राविधिक कारणले यसपटक विद्युतीय मतदान सम्भव नभए पनि प्रचारशैली भने पूर्ण रूपमा डिजिटल बनाइने तयारी कांग्रेसको छ।
प्राकृतिक विपद्का कारण सहरभरि ठूला गेट, होर्डिङ बोर्ड, तोरण टाँस्न रोक लगाउँदै सादा र मितव्ययी महाधिवेशन गर्ने कांग्रेसको नीति छ। ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीले नेतृत्व चयनसँगै सांगठनिक सुधार र वैचारिक बहसलाई प्राथमिकतामा राखेको जनाएको छ।
असोज १८, २०८३ आइतबार ११:१०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।