कांग्रेस महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिको चहलपहल, भेटघाटदेखि सेल्फीसम्म

कांग्रेस महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिको चहलपहल, भेटघाटदेखि सेल्फीसम्म

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू काठमाडौंस्थित खुलामञ्चमा उपस्थित हुनथालेका छन्। आइतबार दिउँसो २ बजे उद्घाटन हुने महाधिवेशनस्थलमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरूको चहलपहल बढेको हो।

महाधिवेशनस्थल पुगेका प्रतिनिधिहरू आपसमा भेटघाट, शुभकामना आदानप्रदान तथा तस्बिर खिचाउन व्यस्त छन्। पाँच दिनसम्म (असोज २२ गतेसम्म) चल्ने महाधिवेशनका लागि सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन्। उनीहरूका लागि विभिन्न होटलमा आवासको व्यवस्था गरिएको पार्टीले जनाएको छ।

दिउँसो २ बजे हुने उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने बताइएको छ।

त्यस्तै, सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवासहित विदेशी पाहुनाहरू समेत सहभागी हुनेछन्। महाधिवेशनको कार्यतालिका अनुसार असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। 

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नारा तय गरिएको महाधिवेशनको बन्दसत्रमा सभापति थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नेछन् भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्ना प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा छुट्टाइएका तीनवटा हलमा डिजिटल बोर्डमार्फत छलफल गराइनेछ।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तोकेको छ। त्यसपछि असोज २१ र २२ गते खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ।

पार्टी विधानअनुसार महाधिवेशनमा उम्मेदवार बन्ने व्यक्ति यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन्। त्यस्तै, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका पदेन प्रतिनिधिहरूलाई पनि केन्द्रीय कार्यसमिति पदमा उम्मेदवार बन्न रोक लगाइएको छ।

१५औँ महाधिवेशनमार्फत कांग्रेसको केन्द्रीय समितिमा ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह र गैरआवासीय नेपालीहरूको समेत पहिलो पटक प्रतिनिधित्व सुनिश्चित हुने छ। 

असोज १८, २०८३ आइतबार १०:१०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।