कांग्रेसमा एक तहमा प्रतिस्पर्धा गरेपछि अर्को तहको कार्यसमितिमा उम्मेदवार बन्न रोक

कांग्रेसमा एक तहमा प्रतिस्पर्धा गरेपछि अर्को तहको कार्यसमितिमा उम्मेदवार बन्न रोक

काठमाडौं : नेपाली कांग्रेसले कुनै एक तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति अर्को तहको कार्यसमितिमा उम्मेदवार हुन नपाउने वैधानिक व्यवस्थाबारे स्मरण गराएको छ। १५औँ महाधिवेशनको उद्घाटनको पूर्व सन्ध्यामा पार्टीको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरेर महाधिवेशनमा उम्मेदवार बन्न पाउने व्यवस्थाबारे पार्टी पङ्क्तिलाई पुनः स्मरण गराएको हो। 

कांग्रेसको १५औँ महाधिवेशन भोलि (असोज १८) दिउँसो २ बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन हुँदै छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम सानेपास्थित केन्द्रीय कार्यालयमा दर्ता भइरहेको छ। पार्टीका विभिन्न पदमा आकांक्षी नेताहरूको संख्या धेरै देखिएपछि कांग्रेसले पुनः अर्को तहमा उम्मेदवार बन्न नपाउने व्यवस्थाबारे जानकारी गराएको छ। 

पार्टीको निर्वाचन समितिद्वारा जारी विज्ञप्तिअनुसार  १५औँ महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने छैन। कांग्रेसको विधान २०१७ (संशोधन सहित) अनुसार पार्टीको कुनै एक तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। 

सोही व्यवस्थालाई आधार मानेर निर्वाचन समितिले १५औँ महाधिवेशनमा उम्मेदवार बन्ने व्यक्ति यसपश्चात् हुने प्रदेश र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रस्ट पारेको हो। यसैगरी, पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ र शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिहरू महाधिवेशनमा केन्द्रीय कार्यसमिति पदको उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको छ। 

सभापति गगन थापाले गर्ने महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरूका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको समेत सम्बोधन हुने बताइएको छ। महाधिवेशनको तयारीसम्बन्धी जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यस कारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन् र उनीहरूसहितले छानेका सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदै छन्।”

कांग्रेसको यस महाधिवेशनबाट पैँतिस वर्ष मुनिका युवाका साथ लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीसमेत पहिलो पटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउँदै छन्। ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ यस महाधिवेशनको मूल मन्त्र राखिएको छ। चालिसेले कांग्रेसले अब बिपी कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने र यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपी विचारलाई बनाइने जानकारी दिए। 

महाधिवेशनमा देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौं आउने क्रम जारी रहेको र झण्डै सात हजार ५०० महाधिवेशन प्रतिनिधि रहने पार्टी कार्यालयले जनाएको छ। भोलि आइतबारको उद्घाटन कार्यक्रमपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री, र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्ने तालिका छ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुनेछ। हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउनु हुने प्रवक्ता चालिसे बताए। निर्वाचन समितिले असोज १९ गते अपराह्न २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको जनाएको छ। मनोनयन राष्ट्रिय सभागृहमा गरिनेछ। निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुनसक्ने निर्वाचन समितिले जनाएको छ। 

असोज १७, २०८३ शनिबार १९:२०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।