सानेपामा सुरु भयो कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया

सानेपामा सुरु भयो कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शनिबार दिउँसोदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

पार्टी कार्यालयमा प्रदेशअनुसार सहज रूपमा नाम दर्ता गराउन प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था मिलाइएको छ। नाम दर्ता गराइसकेपछि प्रतिनिधिहरूलाई पार्टीको विधान, कापी, कलमलगायतका सामग्री समावेश गरिएको महाधिवेशनको झोला उपलब्ध गराइएको छ।

सात हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने १५ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको दर्ता शुल्क तीन हजार ५०० रुपैयाँ तोकिएको छ। महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंस्थित खुलामञ्चमा हुने तय भएको छ। 

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यस पटक विधानअनुसार ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र प्रवासमा रहेका नेपालीलाई केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको अवसर सुनिश्चित गरिएको छ।

‘ऊर्जाशील कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल मन्त्र तय गरिएको महाधिवेशनमा लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र वीपी विचारलाई समृद्धिको वैचारिक आधार बनाउने विषयमा छलफल हुने प्रवक्ता चालिसेले बताए। उनका अनुसार महाधिवेशनको मुख्य प्रयास पार्टीभित्र विधि र पद्धति निर्माणमा केन्द्रित रहनेछ।

बन्द सत्र र उम्मेदवारी मनोनयन तालिका
कार्यतालिका अनुसार उद्घाटनपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ-आफ्ना अलग-अलग प्रतिवेदन पेस गर्नेछन्। 

प्रतिवेदनमाथि भूगोलका आधारमा तीन फरक हलमा समूह विभाजन गरी डिजिटल बोर्डमार्फत छलफल गराइने प्रबन्ध मिलाइएको छ।

यसैगरी, निर्वाचन समितिले असोज १९ गते अपराह्न २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ। आवश्यकता अनुसार निर्वाचन कार्यक्रम परिमार्जन हुन सक्ने चालिसेले बताए।

प्रतिनिधिहरूको आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजकहरू तोकिएका छन्। सहभागीहरूले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत पाउने व्यवस्था मिलाइएको छ।

महाधिवेशन अवधिभर निजी कार तथा मोटरसाइकल पार्किङका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्र तोकिएको छ भने ठूला बसहरूका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ व्यवस्था गरिएको छ।

असोज १७, २०८३ शनिबार १६:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।