कांग्रेस महाधिवेशनको उम्मेदवारी मनोनयन सोमबार

कांग्रेस महाधिवेशनको उम्मेदवारी मनोनयन सोमबार

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता सोमबार हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिअनुसार यही असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मनोनयनपत्र दर्ता गर्ने तालिका छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र महाधिवेशन प्रतिनिधि तथा उम्मेदवार बन्न योग्य सदस्यहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।

केन्द्रीय कार्यसमिति निर्वाचनसम्बन्धी थप विस्तृत कार्यक्रम पछि प्रकाशित गरिने समितिले जनाएको छ।

मनोनयन दर्ताको समय तय भएसँगै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु हुने भएको छ। हाल विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

असोज १७, २०८३ शनिबार १३:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।