पहिल्यै १४ फिल्म हलमा हुँदा शुक्रबारदेखि थपिए नयाँ फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’

पहिल्यै १४ फिल्म हलमा हुँदा शुक्रबारदेखि थपिए नयाँ फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’

काठमाडौं : पहिले नै १४ वटा फिल्म प्रदर्शनरत रहेको अवस्थामा शुक्रबारदेखि दुई नयाँ फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’ हलमा थपिएका छन्।

दुई दशकपछि अभिनेता नारायण त्रिपाठीको पुनरागमन भएको हास्यप्रधान फिल्म ‘चमेलीको पोइ’ र नयाँ कलाकारहरूको ‘चंगुल’ रिलिज भएसँगै हलहरूमा अब प्रदर्शनरत फिल्मको संख्या १६ पुगेको छ।

यसअघि फिल्म ‘गौँथली’, ‘पार्वती’, ‘तिनीहरू’, ‘बेहुली’, ‘झिँगे दाउ २’, ‘जदौ’, ‘आचार्य’, ‘बा : एक योद्धा’, ‘पेन्सन पट्टा’ लगायत प्रदर्शनरत अवस्थामा छन्। विदेशी फिल्ममा ‘दृश्यम’, ‘रेसिडेन्ट इभिल’, ‘द प्याराडाइज’, ‘ एभेन्जर्सः एन्डगेम’ र सर्वाधिक कमाई गरिरहेको फिल्म ‘हनुमान अंश’ रहेको छ।

फिल्म ‘चमेलीको पोइ’मार्फत कमब्याक गरेका त्रिपाठी नेपाल आएर प्रचार गरिरहेका छन्। एभरेष्ट सूर्य बोहरा निर्देशित यस फिल्ममा मुकुन भुषाल, सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनिता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतको अभिनय छ। 

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा शेरबहादुर तामाङको छायांकन, सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ। बन्दे प्रसादले सम्पादन गरेको फिल्म आरआर फिल्मस्ले वितरण गरेको छ।
 
योसँगै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’मा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय छ। 

फिल्ममा बाल कलाकार रिम्शा कार्कीको समेत अभिनय छ। मालती कार्कीले लगानी गरेको यो फिल्मको निर्देशन राम गौतमको छ। देव महर्जनले द्वन्द्व निर्देशन गरेको यो फिल्ममा छायाङ्कन तथा सम्पादन दीपेन बस्न्यातको छ। यो फिल्मले कतिको व्यापार गर्ला अर्को साता सोमबार थाहा हुनेछ।

असोज १६, २०८३ शुक्रबार १५:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।