प्रदीपदेखि ‘कुल ब्वाय’सम्मको साथले पनि नचलेकी अनलक्की दिव्या!

प्रदीपदेखि ‘कुल ब्वाय’सम्मको साथले पनि नचलेकी अनलक्की दिव्या!

काठमाडौं : फिल्म क्षेत्रमा कसैलाई एउटा अवसर पाउन वर्षौं संघर्ष गर्नुपर्छ, तर कतिपयको हकमा लगातार मुख्य भूमिका मिल्दा पनि दर्शकको नजरमा स्थापित हुन हम्मेहम्मे पर्छ। अभिनेत्री दिव्या रायमाझी पनि अहिले यस्तै चुनौतीपूर्ण अवस्थामा देखिन्छन्।

करिब तीन वर्षअघि ‘एक्टर : टेक वान’मार्फत डेब्यु गर्दा दिव्यालाई लिएर फिल्म उद्योगमा ठूलो अपेक्षा थियो। पहिलो प्रयासमै चल्तीका स्टार प्रदीप खड्काको जोडी बन्ने अवसर उनलाई मिल्यो। प्रदर्शनअघि प्रचारका अनेक दाउपेच प्रयोग गरिए, तर हलमा पुगेपछि फिल्म बक्स अफिसमा नराम्ररी पछारियो।

रिलिजअघिको हाइप रिलिजपछि केही दिन पनि टिक्न सकेन। दोस्रो फिल्म ‘पीताम्बर’मा अभिनयको हिसाबले दिव्याको भूमिका राम्रो भए पनि कथावस्तु र प्रस्तुति कमजोर हुँदा दर्शकको उल्लेखनीय साथ पाउन सकिनन्। 

सुरुआती केही दिन फिल्मको प्रचारप्रसार र हल भिजिटमा देखिएकी उनी फिल्मको कमजोर प्रदर्शनपछि भने प्रचारबाट टाढिएकी थिइन्। तर, फिल्महरू लगातार असफल भए पनि दिव्यालाई नयाँ कामको अभाव भने भएन। 

उनी अभिनेता विराज भट्टको फिल्म ‘राम नाम सत्य’मा पनि देखिइन्, तर यो फिल्मले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। यो फिल्म असफल नै भयो।

हालै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’मा शीर्षक भूमिका अर्थात् कथा उनैको वरिपरि घुमे पनि चर्चा भने दिव्याको भन्दा बढी सामाजिक सञ्जाल टिकटकमा ‘कुल ब्वाय’ नामले परिचित पारस बम ठकुरीको भइरहेको छ। निर्माण पक्षले प्रचारप्रसारमा उनलाई मात्र अगाडि सार्दा मुख्य पात्र दिव्या नै ओझेलमा पर्न पुगेकी छन्।

अर्कोतर्फ डेब्यु फिल्मकै समयमा अभिनेता आशीर्वाद क्षेत्रीसँग जोडी बाँधिने भनिएको अर्को फिल्म ‘माया प्रीति’को अवस्था हालसम्म अन्योलमै छ। एकपछि अर्को मुख्य भूमिकामा देखिँदा पनि दर्शकको मन जित्न र व्यावसायिक सफलता पाउन नसक्नुलाई अनलक्की अभिनेत्री दिव्या भन्दा फरक नपर्ला! 

असोज १५, २०८३ बिहीबार १७:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।