दुई दिन पछि सरेको कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

दुई दिन पछि सरेको कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले देशभर परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई कारण देखाउँदै दुई दिन पछि सरेको १५ औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। 

पार्टीसँगको समन्वयमा कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार महाधिवेशनको उद्घाटन अब आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्च, टुँडिखेलमा हुने छ। यसअघि उद्घाटन समारोह असोज १६ गतेका लागि तय गरिएको थियो।

नयाँ कार्यतालिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने अन्तिम समय असोज १५ गतेसम्म तोकिएको छ। त्यस लगत्तै असोज १६ र १७ गते महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन दर्ता गरिनेछ।

उद्घाटन समारोह सम्पन्न भएपछि असोज १९ र २० गते महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रमहरू सञ्चालन हुनेछन्। यसैगरी नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम निर्धारण गरिएको छ।

निर्वाचन कार्यक्रमसम्बन्धी अन्य कार्यक्रम र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने जनाउँदै निर्वाचन समितिले अधिवेशनका सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न आग्रह गरेको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले महाधिवेशन अन्तर्गत वडा तथा गाउँ र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भइरहेको जानकारी दिए। प्रतिकूल मौसमका कारण केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको उनको भनाइ छ। 

असोज १३, २०८३ मंगलबार १९:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।