ह्वाट्सएप कलमा संवेदनशील भिडियो खिचेर महिलालाई ब्ल्याकमेलिङ गर्ने मुखिया पक्राउ

ह्वाट्सएप कलमा संवेदनशील भिडियो खिचेर महिलालाई ब्ल्याकमेलिङ गर्ने मुखिया पक्राउ
एआईको सहयोगमा बनाइएको तस्बिर।

काठमाडौं : ह्वाट्सएपमा एक महिलालाई भिडियो कल गरी संवेदनशील भिडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेलिङ गरेको आरोपमा सर्लाहीको बसबरियाबाट एक जना पक्राउ परेका छन्।

पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सर्लाहीको बसबरियाका शिव चरण मुखियालाई पक्राउ गरेको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुखियाले चिनजान तथा नाता सम्बन्धको आधारमा विश्वासमा पारेर ती महिलालाई ह्वाट्सएपमार्फत पटक-पटक भिडियो कल गर्ने गर्थे। कुराकानीकै क्रममा मुखियाले विभिन्न दबाब र धम्की दिएर महिलालाई कपडा खोल्न बाध्य पारी मोबाइलमै संवेदनशील तस्बिर र भिडियो रेकर्ड गरेर राखेका थिए।

मुखियाले उक्त तस्बिर र भिडियो पीडित महिला र उनका आफन्तलाई पठाउने र सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए। परिवार र समाजमा चरित्रहत्या गरिदिने डर देखाउँदै उनले महिलासँग ५० हजार रुपैयाँ रकम माग गरी निरन्तर मानसिक दबाब सिर्जना गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले कसैलाई विश्वासमा पारी निजी तस्बिर वा भिडियो खिचेर बार्गेनिङ गर्नु साइबर अपरा भएको बताए। यस्ता गतिविधिलाई सामान्य वा घरायसी विषयका रूपमा नलिन आग्रह गर्दै गौतमले व्यक्तिगत गोपनीयता र मर्यादामाथि गरिएको यस्ता आक्रमण अपराध भएकाले कानुनी कारबाही गरिने बताए।

प्रहरीले प्रविधिको दुरुपयोगबाट हुने साइबर अपराधबाट जोगिन आम नागरिकलाई सचेत पनि गराएको छ। कसैको व्यक्तिगत वा आपत्तिजनक भिडियो र तस्बिर प्राप्त भएमा त्यसलाई सेयर, फरवार्ड वा सामाजिक सञ्जालमा पोस्ट नगर्न उनले अनुरोध गरे। यस्ता कार्य आफैँमा दण्डनीय हुने भएकाले कहिबाट धम्की वा ब्ल्याकमेलिङको सिकार भएमा ह्वाट्सएप च्याट, फोन नम्बर, कल विवरण, अडियो तथा भिडियोजस्ता डिजिटल प्रमाणहरू नमेटाई सुरक्षित राख्न प्रहरीको आग्रह छ।

असोज १३, २०८३ मंगलबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।