चोलेन्द्रलाई नियन्त्रण लिइएको प्रकरणमा आङदेम्बेको टिप्पणी : 'प्रहरीको काम केटाकेटी खेलजस्तै भयो'

चोलेन्द्रलाई नियन्त्रण लिइएको प्रकरणमा आङदेम्बेको टिप्पणी : 'प्रहरीको काम केटाकेटी खेलजस्तै भयो'

पाँचथर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपाल प्रहरी कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेश पालक जस्तो भएको टिप्पणी गरेका छन्।

सोमबार पाँचथरको फिदिममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिएर १० घण्टा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन्।

आङदेम्बेले राणालाई नियन्त्रणमा लिने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको बताए। पूर्व प्रधानन्यायाधीश राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट पार्न उनले सरकारसँग माग गरे। 

सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उल्लेख गर्दै उनले लोकतन्त्रको मर्मलाई पालना आग्रह गरे। “हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौं। लोकतन्त्रप्रति, दलहरूप्रति नागरिकको भरोसा नटुटोस् भन्न चाहेका छौं”, आङ्देम्बेले भने। 

कांग्रेसमा १३ हजारभन्दा बढी युवाहरू एकै पटक सामेल भएको बताउँदै जेनजी पुस्ताका युवाहरू वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन कांग्रेस निर्माण भएको उनले बताए। कांग्रेसमा अब प्यानल खडा नहुने उनको भनाइ छ।

असोज १२, २०८३ सोमबार २२:०४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।