गृहमन्त्रीको सचिवालय जोडेर संवाद गरेको अडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ, सीआरएसमा भेटिए ६ मुद्दा दर्ता
काठमाडौं : गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग सम्पर्क रहेको भनी गरिएको अडियो संवाद सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
अडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि सोमबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ मा बस्ने बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ का आशिष मल्ल भन्ने धर्मराज मल्ल पक्राउ परेका हुन्।
वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादा विपरीत प्रसारण भएको अडियोको वास्तविकता बुझ्न नियन्त्रणमा लिइएका मल्लमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार अनुसन्धानका क्रममा मल्लको आपराधिक अभिलेख (सीआरएस) जाँच गर्दा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा यसअघि नै छ वटा मुद्दा दर्ता रहेको खुलेको छ। उनीविरुद्ध २०७७ देखि २०८१ सम्म उक्त मुद्दा भएका हुन्।
मल्लविरुद्ध दूरसञ्चार ऐन कसुर, बैंकिङ कसुर, अभद्र व्यवहार र ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता रहेको उनले जानकारी दिए। दूरसञ्चार ऐन कसुरमा भने उनी फरार सूचिमा छन्।
असोज १२, २०८३ सोमबार १७:३३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।