भारतमा बाढीपहिरोमा ६२ जनाको मृत्यु

भारतमा बाढीपहिरोमा ६२ जनाको मृत्यु

एजेन्सी : भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।

बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ।

भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढी आएपछि राजधानी लखनऊसहित केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको छ। उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका छन्। स्थानीय बासिन्दालाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा तीव्र गतिमा बग्ने नदी, खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ।

लखनऊस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिंहका अनुसार बङ्गालको खाडीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको छ। उनका अनुसार मङ्गलबारसम्म राज्यका पूर्वी र पश्चिमी भागमा हल्का वर्षा भने जारी रहन सक्नेछ।

बाढीको प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ। त्यहाँ ७५ हजारभन्दा बढी मानिसलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

असोज १२, २०८३ सोमबार १३:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।