तिनाउको इतिहास बिर्सिँदा पटक-पटक तर्सिन्छ बुटवल !

तिनाउको इतिहास बिर्सिँदा पटक-पटक तर्सिन्छ बुटवल !

बुटवल : शनिबार राति ८ बजे तिनाउ नदीमा पानीको सतहले खतराको तह पार गर्यो। उर्लँदो बाढी र सुसाइले नदी तटीय क्षेत्रका बासिन्दाको होस उडायो, बुटवलभर रातभर त्रास फैलियो।

मध्यराति साढे १२ बजे नदीको तीव्र बहाव बुटवल-११, टप मजुवा बस्तीमा पस्यो। बाढीले दुईवटा घर बगायो भने तीन घर र दुई घडेरी कटान गरी क्षति पुर्यायो।

लगातारको वर्षासँगै नदी उर्लिएपछि बुटवल उप-महानगरपालिकाले उच्च जोखिममा परेका ५ सयभन्दा बढी स्थानीयलाई रातारात उद्धार गरी उजिरसिंह माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालयमा सार्यो। तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसे।

तिनाउको यो बाढी बुटवलमा मात्र सीमित रहेन, तल्लो तटीय क्षेत्र रुपन्देहीकै मायादेवी गाउँपालिका-२, बेथरीका करिब ६० घर डुबानमा परे। नेपाल मौसम विज्ञान विभागले शनिबार साँझदेखि नै तिनाउ आसपास र होचा भूभागमा उच्च सतर्कता अपनाउन निरन्तर चेतावनी जारी गरिरहेको थियो।

तर, तिनाउको यो वितण्डा बुटवलका लागि नौलो भने होइन। नदीले विगतमा पटक-पटक ठूलो विनाश निम्त्याउँदै चेतावनी दिँदै आएको छ। पछिल्लो बाढीले मानवीय लापरबाही र अतिक्रमणका कारण तिनाउ किनारका बस्तीहरू कति भयानक जोखिमको मुखमा छन् भन्ने फेरि एकपटक प्रमाणित गरिदिएको छ।

इतिहासले दिएको चेतावनी : बिर्सिँदै, जोखिम मोल्दै
तिनाउको इतिहास पल्टाउने हो भने यसले बुटवललाई धेरैपटक रुवाएको छ।

तीमध्ये पनि सबैभन्दा कहालीलाग्दो घटना वि.सं. २०३८ असोज १३ गते दशैंको घटस्थापनाको दिनको हो। त्यसबेला माथिल्लो क्षेत्र दोभानमा करिब डेढ दर्जन घर बग्दा २९ जनाको ज्यान गएको थियो। बाढी बुटवल झर्दा ३५ जनाको मृत्यु भयो, करिब २५० घर बगे र पूर्व-पश्चिम राजमार्गको ऐतिहासिक गोलपार्कस्थित पक्की पुलसमेत नामेट भयो।

त्यसअघि २०२७ सालको बाढीमा ९२ जना बेपत्ता भएका थिए भने १९ पशुचौपाया नष्ट भएका थिए। बाढीको शृङ्खला यतिमा रोकिएन। २०५९ सालमा नदीले धार परिवर्तन गर्दा पवित्रनगरमा पक्की घरहरू भत्किए भने २०६४ भदौ १३ मा उर्लिएको नदीले किनारका अस्थायी टहरा तथा घरहरू बगायो।

२०६६ सालमा हालको बुटवल उद्योग वाणिज्य संघको भवन आसपासबाट करिब १०० सुकुम्बासी बस्तीका घर बाढीले बगायो भने २०७३ साउन ११ गते दर्जनौं घर र देवनगरको झोलुङ्गे पुल बगाउनुका साथै ठूलो मात्रामा जमिन कटान भयो।

यी विपद्हरूले तिनाउको बाढीलाई मौसमी समस्या मात्र भनेर पन्छाउन नमिल्ने देखाउँछन्। तर, तटीय क्षेत्रका बासिन्दा र नीति-निर्माताले इतिहासको पाठ भुल्दा नदी किनारमा मानवीय चाप बढ्दो छ र तिनाउ अलिकति सुस्साउँदा पनि सिङ्गो बुटवल त्रसित बन्नुपर्ने अवस्था छ।

साँघुरिँदो नदी, बढ्दो मानवीय अतिक्रमण
विगत दुई दशकअघिसम्म तिनाउको प्राकृतिक बहाव क्षेत्र निकै फराकिलो थियो। तर, पछिल्ला वर्षहरूमा नदीको बाढी पस्ने प्राकृतिक क्षेत्रमै ठूला-ठूला भौतिक संरचना र बाक्ला बस्तीहरू थपिएका छन्।

प्राकृतिक बहाव क्षेत्र साँघुरिएपछि भारी वर्षा हुँदा पानीले आफ्नो पुरानो बाटो (प्राकृतिक बहाव) खोज्छ र बस्ती पस्छ। यही कारण तिनाउको समस्यालाई केवल ‘धेरै पानी परेको’ अर्थमा मात्र नहेरी नदी र बस्तीबीचको सम्बन्ध तथा भू-उपयोग नीतिका आधारमा हेर्नुपर्ने विज्ञहरूको मत छ।

तिनाउ नदी अध्येता तथा वातावरण इन्जिनियर डा. खेटराज दाहालका अनुसार नदी दोहनको अवस्था डरलाग्दो छ। ‘कतिपय स्थानमा ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खननका कारण नदीको सतह १२ मिटरसम्म गहिरिएको छ’, उनले भने।

बुटवलमाथि झुन्डिएको तरबार
तिनाउको जोखिम बुटवलको किनारमा मात्र सीमित छैन। नदीको मुहानदेखि बुटवलसम्मको पहाडी भूगोल, पहिरो र नदी थुनिन सक्ने सम्भावित जोखिमलाई पनि समग्र रूपमा हेर्नुपर्ने विज्ञहरू औँल्याउँछन्।

इन्जिनियर डा. दाहालका अनुसार सिद्धबाबा आसपासको कमजोर पहाडी भूगोल बुटवलका लागि निरन्तरको ठूलो खतरा हो। ‘माथिल्लो क्षेत्रमा ठूलो वर्षाका कारण पहिरो खसेर नदी थुनिएमा र त्यो बाँध एक्कासि फुटेमा तल्लो क्षेत्रमा अकल्पनीय क्षति हुन सक्छ’, उनी भन्छन्।

उनका अनुसार बुटवलको १६/३६ सिँचाइ नहरभन्दा पश्चिमका क्षेत्र र मजुवा आसपासलाई पनि उच्च जोखिमको सूचीमा राखेर हेर्नुपर्छ। विगतमा ठूलो विपद् नआएकै भरमा कुनै पनि क्षेत्रलाई सुरक्षित मान्न नसकिने उनको चेतावनी छ।

दराजमै थन्किए अध्ययन
तिनाउको जोखिमबारे विगतमा थुप्रै अध्ययन भए तर ती अध्ययनका निष्कर्ष कार्यान्वयनमा कहिल्यै गम्भीरता देखिएन।

त्रिभुवन विश्वविद्यालयका वरिष्ठ भूगर्भविद् डा. मेघराज धितालले सन् २००२ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा तिनाउको बाढी तथा पहिरोको जोखिमबारे विस्तृत अध्ययन गरेका थिए।

अध्ययनले नदीको स्रोत, पहाडी क्षेत्रमा हुन सक्ने पहिरो, बाढी र तटीय क्षेत्रमा पुग्ने क्षतिको गम्भीर विश्लेषण गरेको थियो। तर, अध्ययनपछि पनि जोखिमयुक्त क्षेत्रमै बस्ती र संरचना थपिँदै गए। वैज्ञानिक भू-उपयोग व्यवस्थापन र दीर्घकालीन पूर्वतयारीका सुझाव कागजमै सीमित रहे।

त्यस्तै, २०६५ जेठमा तत्कालीन बुटवल नगरपालिकाले तिनाउ समस्या र समाधानबारे सरोकारवालासँग बृहत् छलफल आयोजना गरेको थियो।

तत्कालीन जलस्रोतमन्त्री विष्णु पौडेल समेतको सहभागितामा भएको छलफलमा तिनाउका लागि दीर्घकालीन गुरुयोजना बनाउन माग उठेको थियो। त्यसपछि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भैरहवाले गुरुयोजना निर्माण प्रक्रिया अघि बढाए पनि त्यो योजना कार्यान्वयन तहमा नपुगी अलपत्र पर्यो।

तटबन्धभन्दा परको दीर्घकालीन रणनीति के?
तिनाउ नियन्त्रणका नाममा वर्षौँदेखि तटबन्ध निर्माणमा राज्यको करोडौं बजेट खन्याइँदै आएको छ। तर, नदीको प्राकृतिक बहाव, जलाधार क्षेत्रको संवेदनशीलता र बस्ती विस्तारलाई एकीकृत रूपमा सम्बोधन नगरेसम्म तटबन्धले मात्रै नदी रोक्न सक्दैन।

डा. दाहालका अनुसार अब तटबन्धको परम्परागत सोचबाट माथि उठ्नुपर्छ।

‘नदीको मुहान तथा माथिल्लो जलाधार संरक्षण, प्राकृतिक बहाव क्षेत्रको सुरक्षा, नदीजन्य पदार्थको उत्खननमा पूर्ण कडाइ, जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार नियन्त्रण र प्रभावकारी पूर्वसूचना प्रणाली अपरिहार्य छ,’ उनी भन्छन्, ‘यसका लागि तिनाउको स्रोतदेखि तल्लो तटीय क्षेत्रसम्मको एकीकृत जोखिम नक्साङ्कन गरिनुपर्छ। कुन क्षेत्रमा बाढीको जोखिम कति छ, कहाँ बस्ती विस्तार रोक्ने, कहाँ संरचना सुरक्षित गर्ने र आपत्कालीन अवस्थामा नागरिकलाई कहाँ सार्ने भन्ने स्पष्ट योजना आवश्यक छ।’

बुटवलका पूर्व नगर उपप्रमुख विमलबहादुर शाक्य पनि विगतको तुलनामा तिनाउको जोखिम कैयौँ गुणा बढेको स्वीकार्छन्।

विगतमा नदीको बहाव क्षेत्र फराकिलो रहेको र अतिक्रमण नभएको स्मरण गर्दै उनी भन्छन्, ‘अहिले नदी किनारमा बाक्लो बस्ती बसिसकेको छ, नदीको बाटो साँघुरिएको छ। यस्तो अवस्थामा विगतको जस्तै (२०३८ सालको स्तरको) ठूलो बाढी आयो भने क्षतिको अनुमानसमेत गर्न सकिँदैन। त्यसैले विगतका विपद्बाट पाठ सिकेर नदी नियन्त्रण तथा बस्ती व्यवस्थापनको काम तत्काल अघि बढाउनुको विकल्प छैन।’

असोज १२, २०८३ सोमबार ०७:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।