भारतमा भारी वर्षापछि बाढी : ४८ घण्टामा १८ जनाको मृत्यु, हजारौँ विस्थापित
एजेन्सी : भारतका पूर्वी तथा मध्य राज्यहरूमा पछिल्लो ४८ घण्टादेखि भइरहेको भारी वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ।
वर्षासँगै आएको बाढी र डुबानका कारण ठूलो मात्रामा बालीनाली तथा भौतिक संरचनामा क्षति पुगेको छ भने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
उत्तर प्रदेशमा १७ जनाको मृत्यु, ६३ जिल्ला प्रभावित
उत्तर प्रदेशका धेरैजसो भू-भागमा भएको अत्यधिक वर्षाका कारण पछिल्लो ४८ घण्टामा १७ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मनसुन बाहिरिने क्रममा राज्यका ७५ मध्ये ६३ जिल्लामा सामान्यभन्दा धेरै वर्षा भएको छ। हिन्दुस्तान टाइम्सले राहत आयुक्त हृषिकेश भास्कर यशोदलाई उद्धृत गर्दै पछिल्लो २४ घण्टामा राज्यमा सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको उल्लेख गरेको छ।
राहत आयुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ४८ घण्टामा अमेठी, बहराइच, बाँदा, बाराबंकी, बस्ती, फतेहपुर, हमिरपुर, हरदोई र कानपुर नगरमा एक–एक जनाको र अयोध्यामा दुई तथा लखिमपुर खीरीमा चार जनाको मृत्यु भएको छ।
बहराइचमा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने बस्तीमा चट्याङका कारण एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
शनिवार बिहान ८:३० बजेसम्मको २४ घण्टामा उत्तर प्रदेशमा औसत ५२.५ मिमी वर्षा मापन गरिएको छ भने केही केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ।
अविरल वर्षा र तीव्र हावाहुरीका कारण बालीनालीमा ठूलो क्षति पुगेको छ। खेतहरू जलमग्न भएकाले आउँदो सिजनको बाली लगाउने काममा समेत ढिलाइ हुन सक्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
ओडिशामा ७३ हजारभन्दा बढी प्रभावित, ४० हजारको उद्धार
ओडिशाका १० जिल्लामा भारी वर्षाका कारण ७३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। जसमध्ये ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण ७२१ वटा घरमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको छ भने चार हजार ४८० हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ।
बिहारमा गण्डक नदीको बाढी बस्तीमा, उच्च सतर्कता अपनाइयो
बिहारको पश्चिम चम्पारण जिल्लामा गण्डक नदीको पानी बस्तीमा पसेको छ। शनिबार गण्डक नदीको पानी घरभित्र पसेपछि दुई हजारभन्दा बढी गाउँलेलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैबीच, बिहारका मुख्य सचिव प्रत्यय अमृतले संवेदनशील नदी तटीय क्षेत्रका सबै जिल्ला धिकारीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन्। नेपालका पहाडी क्षेत्रबाट बगेर आउने नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनलाई तयारी अवस्थामा रहन भनिएको हो।
छत्तीसगढमा १ जनाको मृत्यु, ८ जिल्लामा विद्यालय बन्द
लगातार वर्षाका कारण छत्तीसगढका विभिन्न क्षेत्रहरू जलमग्न भएका छन्। वर्षाका कारण सडक सम्पर्क प्रभावित भएको छ भने आठ जिल्लाका विद्यालय बन्द गरिएको अधिकारीहरूले बताएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
कोण्डागाउँमा शुक्रबार खेतमा माछा मार्ने क्रममा भेलमा खसेर ४० वर्षीय एक किसानको डुबेर मृत्यु भएको छ।
मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै दन्तेवाडा, बिजापुर, कोण्डागाउँ, काङ्केर, बस्तर, गरियाबन्द, धमतरी र दुर्ग जिल्लाका सरकारी तथा निजी विद्यालयहरूमा बिदा दिइएको छ। साथै, प्रभावित क्षेत्रका सरकारी विद्यालयहरूमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षाहरू पनि स्थगित गरिएका छन्।
असोज ११, २०८३ आइतबार १३:०३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।