क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई सुम्पिँदै कांग्रेस इतर पक्ष भन्छ : ‘नयाँ जोसका साथ महाधिवेशनमा जाँदैछौं’

क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई सुम्पिँदै कांग्रेस इतर पक्ष भन्छ : ‘नयाँ जोसका साथ महाधिवेशनमा जाँदैछौं’

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको छुट्टै प्रक्रिया अघि बढाउँदै क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ। 

पार्टीको संस्थापन पक्ष वडा तहबाट पालिका हुँदै क्षेत्रीय अधिवेशनमा केन्द्रित भएको बेलामा असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको इतर पक्षले महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई अद्यावधिक गरिएको क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरेको हो।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक किरणराज शर्मा पौडेलले हस्तान्तरण गरेको विवरणअनुसार असोज ९ गतेसम्म कुल ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्य अद्यावधिक भएका छन्। जसमा ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यको नवीकरण र २ लाख १० हजारभन्दा बढी नयाँ सदस्य थपिएका छन्। 

क्रियाशील सदस्यको विवरण बुझ्दै निर्वाचन समितिका संयोजक पोखरेलले पूर्वघोषित कार्यतालिका अनुसार नै असोज १५ गते देशभर अधिवेशन सुरु हुने बताए। पत्रकार सम्मेलनमा इतर पक्षको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’का संयोजक एवं पूर्व महामन्त्री डा. शशांक कोइरालाले यो महाधिवेशन आफूहरूका लागि ‘परीक्षाको घडी’ भएको बताए।

कांग्रेस विचार र इतिहास बोकेको पुरानो पार्टी भए पनि नयाँ जोसका साथ महाधिवेशनमा जान लागेको उनले बताए। "नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो," कोइरालाले भने, "पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोसका साथ हामी जाँदैछौं।"

पार्टीलाई सशक्त बनाउन एकजुट भएर महाधिवेशन सफल पार्नका लागि सहयोग गर्न उनले आह्वान गरे। कोइरालाले भने, "यो महाधिवेशन हाम्रो परीक्षाको समय पनि हो। अधिवेशनले भविष्यको बाटो देखाउँछ। त्यसैले यो अधिवेशन महत्त्वपूर्ण छ।" पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने आफ्नो समूहको प्रयास रहेको उल्लेख गर्दै उनले भने, "हामी चाहन्छौं, सबै साथ हिँडौं, सबै सँगै हिँडौं।"

यस्तै, नेता डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको महाधिवेशन सम्पन्न गर्न संवादको ढोका खुला राखिए पनि सहमति जुट्न नसकेपछि बाध्य भएर आपत्कालीन रूपमा महाधिवेशनको तयारी अघि बढाउनुपरेको बताए। घोषित तालिका अनुसार इतर समूहले असोज १५ मा वडा अधिवेशन गरी आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औँ महाधिवेशन गर्ने लक्ष्य राखेको छ। 

असोज १०, २०८३ शनिबार १८:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।