कांग्रेसले दियो ओली, प्रचण्ड र लामिछानेलाई महाधिवेशन उद्घाटनमा निम्तो
काठमाडौं : नेपाली कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।
पार्टीका सहमहामन्त्री उदयशमशेर राणा नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर निमन्त्रणा पत्र दिएको हो।
असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सबै राजनीतिक दलका नेतृत्वलाई समेत निमन्त्रणा दिइएको सहमहामन्त्री राणाले जानकारी दिए।
दलका नेताहरूको उपस्थितिले लोकतान्त्रिक अभ्यासलाई थप अर्थपूर्ण बनाउँदै राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई सुदृढ बनाउने विश्वास कांग्रेसको छ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असोज १६ गते खुलामञ्चमा महाधिवेशन उद्घाटनको तयारी गरेको हो। पार्टीभित्र पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशनका छुट्टै कार्यक्रम अघि बढाएको छ।
असोज १०, २०८३ शनिबार १५:२६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।