‘द ब्ल्यू लाइट’पछि बलिराम चौहानले थाले ‘ल्याङ्ग ल्याङ्ग’
काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘द ब्ल्यू लाइट’का निर्देशक बलिराम चौहानले आफ्नो दोस्रो फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को छायाङ्कन सुरु गरेका छन्।
केही दिनअघि ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट नियमित छायाङ्कन थालिएको हो।
काठमाडौंपछि झापा र सुनसरीको इटहरीलगायतका स्थानमा छायाङ्कन गरिने यो फिल्मको सुटिङ तालिका ३५ दिनको तय गरिएको निर्देशक चौहानले जानकारी दिए।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा नयाँ (जेनजी) पुस्ताको प्रेम, सङ्घर्ष र स्वतन्त्रताको विषय समेटिएको छ।
फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवनजंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, विनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।
रिहान र सन्तोष बानियाँले यसअघि फिल्म ‘होस्टेल३’मा सहकार्य गरेका थिए। हलमा प्रदर्शन भइरहेको फिल्म‘बेहुली’मा सन्तोषको गेडी डनको भूमिका चर्चा भइरहेको छ।
निर्देशक चौहान र उपाश्री खतिवडा कथालाई मिलेर तयार पारेको यस फिल्मको कथाले युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’लाई उठाएको छ। स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा लगानी भोलानाथ कटुवालको छ।
फिल्मको रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, महेश मगर प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ। यस फिल्मको प्रदर्शन मिति भने घोषणा भएको छैन।
स्मरण रहोस् निर्देशक चौहानले निर्देशन गरेको फिल्म‘द ब्ल्यू लाइट’ गत वर्षको माघ १६ गतेबाट प्रदर्शनमा आएको थियो। फिल्मले शो नपाएपछि एकै दिनमा हलबाट निर्माताले उतारेका थिए। उक्त फिल्ममा लगानी अभिनेत्री बेनिशा हमालले गरेकी थिइन्।
असोज ८, २०८३ बिहीबार २३:२२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।