चालकले सल्काएको बिँडीबाट बसमा आगलागी हुँदा ९ जनाको मृत्यु : गन्ध आएको भन्दै यात्रुले गाडी रोक्न आग्रह गर्दा चालकले भने- 'मर्न मन छ भने मर'

चालकले सल्काएको बिँडीबाट बसमा आगलागी हुँदा ९ जनाको मृत्यु : गन्ध आएको भन्दै यात्रुले गाडी रोक्न आग्रह गर्दा चालकले भने- 'मर्न मन छ भने मर'

एजेन्सी : भारतको दिल्लीबाट उत्तर प्रदेशको महोबा जाँदै गरेको यात्रुवाहक बसमा बुधबार राति आगलागी हुँदा ९ यात्रुको मृत्यु भएको छ।

३५ जना यात्रु सवार उक्त बस यमुना एक्सप्रेसवेअन्तर्गत ग्रेटर नोएडाको जेवरस्थित दयानातपुर गाउँ नजिकै  करिब ११:३० बजे दुर्घटनामा परेको हो।

'मर्नु छ भने मर, बस रोकिँदैन'

बस दुर्घटनाबारे जेवर प्रहरी चौकीमा हमीरपुर जिल्लाका सुनील कुमारले प्रहरीमा दर्ता गराएको जाहेरी अनुसार बिहार दर्ता नम्बर रहेको ‘राज कल्पना ट्राभल्स’को बस बुधबार राति करिब ९ बजे दिल्लीको काश्मीरी गेटबाट छुटेको थियो। 

राति करिब ११:३० बजे यमुना एक्सप्रेसवेको ३३ किलोमिटर विन्दुमा पुग्दा चालकको क्याबिनबाट डढेको गन्ध आउन थालेको थियो। यात्रुहरूले तुरुन्तै बस रोकेर जाँच गर्न चालकलाई आग्रह गरेका थिए। तर यात्रुको भनाइको वेवास्ता गर्दै चालक र सहचालकले बसमा यस्तो गन्ध आउनु सामान्य हो भन्दै गाडी अगाडि बढाएका थिए।

यात्रुहरूले पटक-पटक आग्रह गर्दा उल्टै 'मर्न मन छ भने मर, हामी बस रोक्दैनौं' भन्दै गैरजिम्मेवार जवाफ दिएको एफआईआरमा उल्लेख छ।

साथै, चालक र सहचालकले क्याबिनभित्रै बिडी र चुरोट पिइरहेको र त्यसको केही बेरमै चालकको सिट नजिकैबाट एक्कासि आगोको ज्वाला निस्किएको जाहेरीकर्ताले बताएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

एसी विष्फोटका कारण फैलियो आगो

प्रहरीले बसको एसीमा भएको स्पार्क वा विस्फोटका कारण इन्जिनमा प्रयोग हुने लुब्रिकेटिङ तेलमा आगो लागेको र त्यसपछि आगो तीव्र रूपमा बसभर फैलिएको जनाएको छ।

जेवर थानाका प्रमुख अजय कुमार सिंहका अनुसार चालकले ढिलो गरी बस रोक्दासम्म गाडीमा बाक्लो धुवाँ र आगो फैलिसकेको थियो। बसमा सवार ३५ यात्रुमध्ये एक महिलासहित ९ जनाको बाहिर निस्कन नसकेर भित्रै जलेर ज्यान गएको थियो।

अन्य धेरै यात्रुहरू बसबाट हाम हानेर ज्यान जोगाउन सफल भए पनि गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जेवरस्थित कैलाश अस्पताल लगिएको छ, जहाँ ९ जनालाई मृत घोषित गरिएको थियो। 

प्रहरी घटनास्थलमा पुग्दा चालक र सहचालक भने त्यहाँबाट भागिसकेका थिए। उनीहरूलाई पक्राउ गर्न प्रयास भइरहेको प्रहरीले बताएको छ। 

प्रहरीले चालक र सहचालकको 'जानीजानी गरिएको गम्भीर लापरवाही र लापरबाहीपूर्ण तथा असावधानीपूर्ण व्यवहार र यात्रुको सुरक्षाप्रति गैरजिम्मेवार बेवास्ता' का कारण यात्रुको मृत्यु भएको आरोप लगाएको छ।

फरार चालक र सहचालकको खोजी कार्य तीव्र पारिएको जेवर प्रहरीले जनाएको छ।

असोज ८, २०८३ बिहीबार २०:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।