असोजभित्रै गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालनमा ल्याइने, दसैँअघि नै यातायात सुचारु गर्ने तयारी
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोज महिनाभित्रै यातायात सञ्चालनमा ल्याउने गरी मर्मत तथा निर्माण कार्य तीव्र पारिएको छ। सडक विभागका अनुसार धेरैजसो ठाउँमा सडक सफा र मर्मत गरी यातायात सुरु भइसकेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छी–स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ। हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन्।
सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको र नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको उनले जानकारी दिए।
विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्मको १० किलोमिटरमध्ये ९ किलोमिटर सडक खुलिसकेको छ। बाँकी ३०० मिटर क्षेत्रमा रहेको ठूलो पहिरो पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्न सुरु गरिसकेको छ, जुन केही दिनभित्रै सकिने अपेक्षा छ।
उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ। त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ। उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी–स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ।
“रसुवाको बेत्रावेतीमा पुरानो पुल भएकै ठाउँमा बेलीब्रिज जडान गरिनेछ। यसका लागि पुरानो फाउण्डेसन भेटिएको छ, फाउण्डेसन मर्मत सकिएपछि बेलीब्रिज जडान गरिनेछ”, महानिर्देशक जैसीले भने, “यसका लागि पहिले बिदुर–बेत्रावतीमा सडक निर्माण हुुनुपर्नेछ।”
उक्त स्थानमा नेपाली सेनासँग भएको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ।
स्याफ्रुबेँसीमा पनि ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको विभागले जनाएको छ। “स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ।
यसैबीच, स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको १५ किलोमिटर सडक भने बाढीका कारण पूर्ण रूपमा प्रभावित भएकाले हाल सर्भेको काम भइरहेको र मुग्लिन–गल्छी सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोलेर दुवैतर्फ यातायात सञ्चालन भइसकेको विभागले जनाएको छ।
असोज ६, २०८३ मंगलबार १६:५७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।