कामदारलाई खाना पकाउँदै आएकी २५ वर्षीया युवतीको शव भेटियो

कामदारलाई खाना पकाउँदै आएकी २५ वर्षीया युवतीको शव भेटियो
फाइल तस्बिर

काभ्रे : काभ्रेको महाभारत गाउँपालिका-६ बनखुचौरमा भीरबाट लडेको अवस्थामा २५ वर्षीया एक युवतीको शव फेला परेको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ घर भई बनखुचौरस्थित निर्माणाधीन अस्पतालका कामदारलाई खाना पकाउने काम गर्दै आएकी सिर्जना राई मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार गत भदौ २९ गतेदेखि हराइरहेकी राईको शव असोज ५ गते साँझ करिब ६ बजे स्थानीय डाँडाबाट करिब ३०० मिटर तल भीरको झाडीमा खुट्टा अल्झिएको अवस्थामा फेला परेको हो।

उनी सम्पर्कविहीन भएपछि आफन्तले खोजी गरिपाउँ भन्दै भदौ ३१ गते इलाका प्रहरी कार्यालय देविटारमा हुलियासहित निवेदन दिएका थिए। त्यसयता प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय देविटारबाट करिब ५ किलोमिटर पूर्वमा पर्दछ। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देविटारबाट प्रहरी नायब निरीक्षक (सई) अक्षय कुमार साहको कमाण्डमा खटिएको टोलीले आइतबार साँझ नै घटनास्थल पुगेर सुरक्षित राखेको थियो।

घटनाको थप अनुसन्धान, घटनास्थल मुचुल्का र फरेन्सिक जाँचका लागि इलाका प्रहरी कार्यालय मङ्गलटारबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) निकिता कुमारी मिश्रको नेतृत्वमा ५ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट ‘सोको’ सहितको प्राविधिक टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

युवती भीरबाट आफैँ लडेकी हुन् वा घटनाको पछाडि अन्य कुनै कारण छ भन्नेबारे मुचुल्का र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

असोज ६, २०८३ मंगलबार ०९:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।