६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकी वडामा मंगलबार पनि अधिवेशन
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। असोज १६ देखि १९ गतेसम्म तय भएको महाधिवेशनको प्रक्रियाअन्तर्गत तेस्रो दिन (सोमबार)सम्म ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार धादिङ र नुवाकोटसहित सोमबार सम्पन्न हुन बाँकी रहेका अन्य वडाहरूको अधिवेशन असोज ६ गते (मंगलबार) पनि जारी रहने छ।
साथै, धनुषा निर्वाचन क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाहरूको अधिवेशन अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै बाँकी रहेका अछाममा ३, डडेल्धुरामा ४, रुपन्देहीमा ३ र महोत्तरीमा ८ वटा वडाको अधिवेशन प्रक्रिया पनि अन्तिम चरणमा रहेको कटुवालले जानकारी दिए।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदै छ। जसअन्तर्गत असोज ३ गतेदेखि देशभर वडा तहको अधिवेशन सुरु भएको थियो।
असोज ५, २०८३ सोमबार १८:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।