लिटरको एक हजार रुपैयाँमा पनि तेल नपाउने अवस्था हुनसक्छ : पाकिस्तानी मन्त्री मलिक
काठमाडौं : मध्यपूर्वमा चर्किएको द्वन्द्व र साउदी अरबका तेल प्रशोधन केन्द्रहरूमा यमनका हुथी विद्रोहीले बढाएको आक्रमणका कारण पाकिस्तानमा इन्धन आयात निकै कठिन बनेको छ।
यही अवस्था रहे देशमा तेलको मूल्य प्रतिलिटर १ हजार पाकिस्तानी रुपैयाँसम्म पुग्न सक्ने चेतावनी सरकारले दिएको छ। अहिले पाकिस्तानमा पेट्रोलको मूल्य ३९० पाकिस्तानी रुपैयाँ छ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिकले आइतबार लाहोरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इन्धन अभाव भए स्थिति भयावह हुन सक्ने बताएका हुन्।
‘यदि देशमा तेलको चरम अभाव भयो भने, प्रतिलिटर १ हजार रुपैयाँ तिर्न तयार हुँदा पनि तेल पाउन मुस्किल हुन सक्छ’, मन्त्री मलिकले भने।
उनले तेल अभावकै कारण कतिपय छिमेकी देशहरूमा चरम अव्यवस्था सिर्जना भएको दृष्टान्त दिँदै आफ्नो पहिलो प्राथमिकता नागरिकलाई यस्तो संकटबाट जोगाउनु रहेको बताए।
मध्यपूर्वको तनावका कारण महत्वपूर्ण सामुद्रिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बाट हुने ढुवानी अवरुद्ध भएपछि पाकिस्तानमा तेलको आपूर्ति व्यवस्था यसअघि नै धर्मराइसकेको थियो। पछिल्ला दिनहरूमा हुथी विद्रोहीको आक्रमण तीव्र बनेपछि स्थिति झनै नाजुक बनेको छ।
मन्त्री मलिकका अनुसार यो द्वन्द्व कहिले अन्त्य हुन्छ भन्ने कुनै टुङ्गो छैन।
‘यस सङ्घर्षका कारण विश्वभर तेलको मूल्य ८० प्रतिशतसम्म बढेको छ, तर पाकिस्तानमा भने हामीले यसलाई करिब ५० प्रतिशतमा सीमित राख्न सफल भएका छौँ’, सरकारको बचाउ गर्दै उनले भने।
पाकिस्तान सरकारले अन्तिम समयसम्म पनि जनतालाई इन्धन सङ्कटको मारबाट जोगाउन प्रयास गरिरहने दाबी गरेको छ।
असोज ५, २०८३ सोमबार ११:१२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।