पार्टीको विरोध प्रदर्शनअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी लाहोरबाट पक्राउ

पार्टीको विरोध प्रदर्शनअघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी लाहोरबाट पक्राउ

एजेन्सी : पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको छ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का पञ्जाब प्रवक्ताले आइतबार उनको पक्राउ भएको पुष्टि गरेको रोयटर्सले उल्लेख गरेको छ। 

पार्टीले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ विरोध प्रदर्शनसहितको मार्च आयोजना गर्ने तयारी गरिरहेका बेला अलीमा पक्राउ परेकी हुन्। उक्त मार्चको मुख्य माग इमरान खानको रिहाइ रहेको पीटीआईले जनाएको छ।

लाहोर जिल्ला प्रशासनद्वारा जारी सूचना अनुसार अलिमा खानलाई नियन्त्रणमा लिई ३० दिनका लागि जेल चलान गरिएको छ। प्रशासनले गुप्तचर निकायबाट प्राप्त रिपोर्ट उद्धृत गर्दै उनको सार्वजनिक स्थानमा उपस्थितिले ‘सार्वजनिक सुरक्षामा गम्भीर खतरा’ उत्पन्न गर्न सक्ने जनाएको छ।

इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पीटीआईले आउँदो साता राजधानी इस्लामाबादतर्फ विरोध मार्च आयोजना गरेको छ।  

अर्कोतर्फ, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीले शनिबार वक्तव्य जारी गर्दै सरकारले उक्त विरोध प्रदर्शनलाई रोक्न सम्भव भएसम्मका सबै कदम चाल्ने स्पष्ट पारेका थिए।

इमरान खानका निकट सहयोगी जुल्फी बुखारीले अलीमा खानको पक्राउको आलोचना गरेका छन्। उनले पक्राउलाई ‘पूर्ण रूपमा निन्दनीय’ भन्दै सेप्टेम्बर २७ को प्रदर्शनलाई लिएर सरकारलाई त्रसित बनाएको टिप्पणी गरेका छन्।

असोज ४, २०८३ आइतबार १७:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।