अब कुनै चमत्कार भएन भने नेपाली कांग्रेस बिभाजनको डिलमा पुगेको छ : पूर्णबहादुर खड्का
काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै अप्रत्याशित चमत्कार नभए नेपाली कांग्रेस औपचारिक रूपमै विभाजनको डिलमा पुगेको बताएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको महाधिवेशन प्रक्रिया प्रारम्भ भइरहेका बेला आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खड्काले उक्त टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, "अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनकाे अन्तिम डिलमा पुगेको अवस्था छ!"
पूर्वउपसभापति खड्काले गगन थापाको नेतृत्वमा भइरहेको महाधिवेशनको कुनै पनि प्रक्रियामा आफ्नो सहभागिता नरहेको र नरहने समेत स्पष्ट पारेका छन्।
खड्काले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयविरुद्ध दायर गरिएको पुनरावलोकन रिटमा पूर्ण इजलासले पुनरावलोकनको निस्सा दिएको र मुद्दा हाल सर्वोच्चमा विचाराधीन रहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन्।
"निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ," खड्काले भनेका छन्, "यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहन्छु।"
पुनरावलोकनको मुद्दा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश वा रोक लगाउन अस्वीकार गर्दा कांग्रेसका दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनले बताए।
खड्काले नेपालका सबै राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टी फुट्दा कांग्रेसलाई मात्र नभई समग्र लोकतन्त्रलाई नै गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
"यदि उपरोक्त कारणले नेपालको राजनीतिक परिवर्तनका सबै आन्दोलन र अभियानको नेतृत्व गरेको सबै भन्दा पुरानो ऐतिहासक पार्टी बिभाजन भयो भने यसबाट केवल हामी काँग्रेसजनको क्षति मात्र हुने छैन यसले नेपालको लोकतन्त्र संगसंगै पार्ने बहुआयामिक दुष्प्रभाव भयानक हुन सक्ने सम्भावना लाई नजरअन्दाज गर्न नमिल्ने खालका संकेतहरु देखिदै छन्।"
पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा कुनै पनि पक्षमा नखुलेका नेता खड्काले सम्भावित विभाजन रोक्न अझै पनि अन्तिम प्रयास गरिरहेको बताएका छन्।
उनले सर्वोच्चमा विचाराधीन नेपाली कांग्रेसको पुनरावलोकन सम्बन्धी मुद्दालाई परिस्थितिको गम्भीरता हेरी अग्राधिकार राख्ने प्रबन्ध गर्न उनले आग्रह पनि गरेका छन्।
असोज ४, २०८३ आइतबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।