पाकिस्तानको विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च, प्रधानमन्त्रीले के भने?

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च, प्रधानमन्त्रीले के भने?

एजेन्सी : चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले देशको विदेशी मुद्रा सञ्चिति तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको बताएका छन्।

प्रधानमन्त्री कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार पाकिस्तानको कुल तरल विदेशी मुद्रा सञ्चिति बढेर २६ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ।

यो सन् २०२१ सेप्टेम्बर यताकै सबैभन्दा उच्च स्तर हो।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’सँग २१ अर्ब ४० करोड डलर र अन्य वाणिज्य बैंकहरूसँग ५ अर्ब ४० करोड अमेरिकी डलर रहेको छ।

पाकिस्तानी सञ्चारमाध्यम द एक्सप्रेस ट्रिब्यूनका अनुसार विदेशी मुद्रा सञ्चिति बढेपछि प्रधानमन्त्री सरिफले ‘अल्लाहप्रति आभार’ व्यक्त गरेका छन्।

उनले विदेशी मुद्रा सञ्चितिमा आएको यो सुधार सरकारको आर्थिक टोलीको मिहिनेत र सही दिशामा चालिएका नीतिगत कदमहरूको परिणाम भएको दाबी गरे।

सञ्चिति बढ्नुका कारणबारे प्रष्ट पार्दै प्रधानमन्त्री सरिफले भने, ‘रेमिट्यान्स आप्रवाहमा भएको सुधार, निर्यात वृद्धि, चालु खाताको सन्तुलित अवस्था र सरकारी खर्चमा गरिएको नियन्त्रणका कारण विदेशी मुद्राको भण्डार बलियो बनाउन मद्दत पुगेको हो।’

पाकिस्तान पुनः अन्तर्राष्ट्रिय वित्तीय बजारमा फर्किन सफल भएकाले विश्व समुदाय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा पाकिस्तानी अर्थतन्त्रप्रति विश्वास बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

असोज ३, २०८३ शनिबार १४:२२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।