पाकिस्तानमा प्रहरी मुख्यालयमा आत्मघाती र बन्दुकधारीको आक्रमण: ३१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते
एजेन्सी : पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती कार बम विस्फोट र बन्दुकधारीको भीषण आक्रमणमा परी ३१ जनाको मृत्यु भएको छ। मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा प्रहरी र उनीहरूका परिवारका सदस्यहरू परिसरभित्र रहेको मस्जिदमा प्रार्थना गरिरहेका बेला विस्फोटक पदार्थले भरिएको कार लिएर आएका एक आक्रमणकारीले परिसरमा ठक्कर गराएका थिए। लगत्तै हतियारधारी समूह परिसरभित्र घुसेर अन्धाधुन्ध गोलीबारी शुरू गरेका थिए।
करिब दुई लाख २० हजार जनसंख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो। त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू रहेका छन्।
प्रहरीका अनुसार केही आक्रमणकारी अझै पनि प्रहरी परिसरको विशेष शाखा क्षेत्रमा लुकेर बसेका छन्। उनीहरूसँग सुरक्षाकर्मीको गोली हानाहान रातिदेखि नै जारी रहेको बताइएको छ। आक्रमणकारीको यकिन संख्या भने खुल्न सकेको छैन।
विस्फोटको तीव्रताका कारण मस्जिदको बाहिरी पर्खाल र छत ध्वस्त भएको छ। घट्नास्थलबाट प्राप्त तस्बिरहरूमा मस्जिदभित्र इँटा र कङ्क्रीटको थुप्रो लागेको, भित्ताहरू भत्किएको र छतमा ठूला-ठूला प्वाल परेको देखिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले घटनाको कडा शब्दमा भर्त्सना गर्दै मृतकहरूप्रति शोक व्यक्त गरेका छन्। उनले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। यो आक्रमणको अघिल्लो दिन मात्र हाङ्गु जिल्लामा सडक किनारमा भएको बम विस्फोटमा ६ जना सैनिकको मृत्यु भएको थियो भने सुरक्षा निकायले सञ्चालन गरेको कारबाहीमा १० जना लडाकु मारिएका थिए।
पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तान प्रान्तमा बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ। तर अफगानिस्तानको तालिबान सरकारले आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। पाकिस्तानले अफगानिस्तानको भूमिमा रहेका लडाकुहरूलाई लक्षित गरेको दाबी गर्दै हवाई हमला समेत गर्दै आएको छ। गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई हमलामा दर्जनौँ सर्वसाधारण मारिएको तालिबान सरकार र संयुक्त राष्ट्रसंघले बताएका थिए।
असोज ३, २०८३ शनिबार ११:२९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।