संविधान र जनअधिकार खोसेर पछाडि फर्काउने प्रयत्न स्वीकार्य छैन : प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि प्रहार भइरहेको भन्दै त्यसलाई पछाडि फर्काउने प्रयत्न आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।
संविधान दिवस-२०८३ का अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले देश गम्भीर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको दाबी गरेका हुन्। उनले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने जुनसुकै गतिविधिविरुद्ध एकताबद्ध हुन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई आह्वान समेत गरेका छन्।
‘संविधान जारी भएको ११ वर्षको यात्रामा हामीले महत्वपूर्ण उपलब्धि हासिल गरे पनि संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन अझै पूरा भएको छैन,’ प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि कुनै पनि कोणबाट हुने प्रहार वा पछाडि फर्काउने प्रयत्न स्वीकार्य हुन सक्दैन।’
संविधानको अक्षरलाई मात्र नभई यसको मर्मलाई जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्। राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि उत्पन्न हुन सक्ने चुनौतीप्रति सजग गराउँदै नेता प्रचण्डले राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा शक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमार्फत उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायतका संघर्षमा ज्यान गुमाउने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
असोज ३, २०८३ शनिबार ०७:३४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।