अभिनयको प्रचार छाडेर आफ्नै निर्माणको ध्याउन्नमा कलाकार!

अभिनयको प्रचार छाडेर आफ्नै निर्माणको ध्याउन्नमा कलाकार!

काठमाडौं : फिल्म प्रदर्शनको अन्तिम साता निर्माण टिमका लागि निकै चटारो र दबाबको समय मानिन्छ। तर, प्रदर्शनको मुखैमा मुख्य कलाकार नै अर्को काममा व्यस्त भइदिए के होला?

नेपाली फिल्म जगतका लागि यो कुनै नौलो विषय भने होइन, समय-समयमा दोहोरिइरहने प्रवृत्ति हो। अहिले पनि ठ्याक्कै यस्तै अवस्था देखिएको छ। फिल्म ‘बा : एक योद्धा’ अर्को शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ। यही मितिमा निखिल उप्रेतीको फिल्म ‘आचार्य’ र नीति शाह अभिनीत ‘जदौ’ पनि प्रदर्शनमा आउँदै छ।

यतिबेला प्रचारप्रसार निकै सुस्त देखिएको फिल्म ‘बा : एक योद्धा’मा झरना थापा र उनकै छोरी सुहाना थापाको अभिनय रहेको छ। उनीहरू आमाछोरीले पहिलो पटक एकसाथ अभिनय गरेका छन्। तर, मुख्य भूमिकामा रहेका उनीहरू भने यस फिल्मको प्रचारमा खटिनेभन्दा आफैले निर्माण गर्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को सुटिङमा व्यस्त छन्।

निर्मातालाई कथा र कलाकारको अनुहार नै बेच्छु भन्ने थियो होला। प्रदर्शनको बेलामा प्रचारप्रसारमा साथ पाउने अपेक्षा पनि थियो होला। तर, अब उनीहरू हलमा कथा लिएर त पुग्ने छन्, कलाकारको ठेगान छैन। जसको कारण अपेक्षित रूपमा प्रचारप्रसार हुन नसकेको बताइन्छ।

झरनाको निर्देशनमा निर्माण हुने फिल्म ‘ए मेरो हजुर ५’मा उनकै छोरी सुहाना थापा मुख्य भूमिकामा छिन्। पशुपतिबाट २५ दिनको सेड्युलसहित छायांकन थालेकी उनले यसअघि गत साउन २९ गते ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेकी थिइन्। 

फिल्ममा सुहानाको जोडीका रूपमा अनमोल केसी देखिँदै छन्। दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाल लगायतलाई लिएर सुटिङ थालेपछि ‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल र निर्देशक हरि लम्सालले कसलाई लिएर प्रचार थाल्लान् त ? एक जना दिव्यदेव पन्त मात्र प्रचारप्रसारको लागि पर्याप्त होलान् त! 

असोज २, २०८३ शुक्रबार १८:२४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।