हलमा आजदेखि तीन नयाँ नेपाली फिल्म : ‘झिँगेदाउ २’ले डेढ सय बढी शो पाउँदा कसलाई पर्‍यो २ शोको मर्का?

हलमा आजदेखि तीन नयाँ नेपाली फिल्म : ‘झिँगेदाउ २’ले डेढ सय बढी शो पाउँदा कसलाई पर्‍यो २ शोको मर्का?

काठमाडौं : हलहरूमा असमान शो वितरणका बीच शुक्रबारदेखि तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। हलहरूमा फिल्म ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो?’ देशभर एकसाथ प्रदर्शन भएका हुन्।

तर, हलहरूमा ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ले देशव्यापी रूपमा डेढ सयभन्दा बढी शो पाउँदा फिल्म ‘माया बस्छ कि के हो?’ले भने देशभर मात्र २ शो पायो।

डिजिटल भुक्तानी सेवा प्रदायक एप ‘खल्ती’मा शनिबार र आइतबारको अग्रिम बुकिङ विवरण हेर्दा पनि ‘माया बस्छ कि के हो?’ले काठमाडौं उपत्यकाबाहिर एक शो मात्र पाएको देखिन्छ।

सोनाल लामा र कस्मता निरौलाको शीर्ष भूमिका रहेको यो फिल्म नेपालसहित बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा छायांकन गरिएको थियो। सोनाल कस्मता दुवैको यो डेब्यू फिल्म हो। राजु अधिकारी निर्देशित प्रेमकथामा आधारित फिल्ममा मौनता श्रेष्ठको लेखन, बहादुर सिंह तामाङ लगानी छ।

उल्लेखनीय शो पाएको फिल्म ‘झिँगेदाउ २’ घरका दाजुभाइ र पारिवारिक सम्बन्धमा आउने उतारचढावको कथामा आधारित छ। फिल्ममामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सरोज खनाल, हिउँवाला गौतम, संगम भण्डारी, अयभराज बराल, विजय देउजालगायतका कलाकारहरू अभिनय छ।

निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेको फिल्म ‘झिँगेदाउ २’को टिजर-ट्रेलरका साथै तीज ब्याटल गीत ‘धागो छिन्यो चर्खाको’ अहिले चर्चामा छ।

शुक्रबारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘कार्की साइँला’को मुख्य भूमिकामा जितु नेपाल छन्। फिल्मले नेपालभर करिब ५५ शो पाएको छ। जितुका अलावा प्रियना आचार्य (मुन्नी)को मुख्य भूमिका रहेको छ। राजेन्द्र बस्नेत निर्देशित यो फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेनुका आचार्य लगायतका कलाकारले अभिनय गरेका छन्।
 
बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतिकर्ताको रूपमा छन्। कर्णबहादुर फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो।

असोज २, २०८३ शुक्रबार १६:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।