चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा जाने प्रचण्डको चेतावनी

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा जाने प्रचण्डको चेतावनी

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय ‘नयाँ’ भनिएको सरकारको कार्यशैलीबाट जनतामा रहेको भ्रम बिस्तारै चिरिँदै गएको दाबी गरे। 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध सदन र सडकबाट संयुक्त आन्दोलन अघि बढाइने बताए। चाडपर्वपछि देशको परिस्थिति हेरेर नयाँ आन्दोलन सुरु गरिने उनले बताए। 

‘तथाकथित’ नयाँ भनिएको सरकारले सुकुम्वासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी र ट्रेड युनियनमाथि दमन गरेको उल्लेख गर्दै उनले भने, "जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ।"

सदनभित्र सबै प्रतिपक्षलाई एक ठाउँमा ल्याउने र सडकमा बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता उनले औँल्याए। यस विषयमा विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र संवाद सकारात्मक दिशामा अघि बढेको उनले बताए।

राजनीतिक चुनौतीको सामना गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले अन्य वामपन्थी शक्तिसँग सहकार्य र एकताको प्रक्रिया अगाडि बढाइरहेको स्पष्ट पारे। यस अभियानमा पुराना पुस्ताका नेतासँगै युवा पुस्तालाई समेत समेटेर अघि बढ्ने उनको भनाइ थियो।

प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको पनि दाबी गरे। "नयाँ भनिएको सरकारका क्रियाकलापले जनतामा बिस्तारै जुन भ्रम जस्तो भएको थियो, त्यो अब चिरिँदै छ। जुन भ्रम थियो, त्यो च्यातिँदै छ," उनले भने, "एउटा नयाँ ढङ्गले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू, उनीहरूका एजेन्डाहरूप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ।" 

असोज २, २०८३ शुक्रबार १६:००:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।