लाखौंको खर्चमा अर्कैको मसला भाइरल!
काठमाडौं : फिल्म क्षेत्रमा एउटा गज्जबको भ्रम छ- कार्यक्रममा जति धेरै क्यामेरा डाक्न सकियो, फिल्मको उति नै हाइप बन्छ! तर, क्यामेरा बोकेर पुग्नेहरूलाई न फिल्मको कथासँग सरोकार हुन्छ, न त अभिनयसँग। उनीहरूलाई त केवल सामाजिक सञ्जाल तताउने ‘कन्टेन्ट’ र विवाद चाहिएको हुन्छ।
क्यामेराको आँखाले फिल्म होइन, अर्कै कन्ट्रोभर्सी मसला पर्खिरहेको हुन्छ। त्यसैले एउटा यस्तो अनौठो पनि बनिदिन्छ; प्रचार खोजेर एउटाले लगानी गरेको हुन्छ, तर भाइरल मसला अर्कैको बन्छ। बुधबार साँझ फिल्म ‘झिँगे दाउ २’को प्रिमियरमा पनि ठ्याक्कै त्यस्तै भयो।
पुराना निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म भएकाले प्रिमियरमा धेरैजसो कलाकार र फिल्मकर्मीहरूको उपस्थिति थियो। निर्देशक देउजानिकट साथीभाइ र शुभचिन्तकहरू उनको फिल्म हेर्न पुग्ने नै भए। सोही भीडमा संगीतकार दाजुभाइ टीका बुढाथोकी र टंक बुढाथोकी पनि पुगेका थिए।
पुराना निर्देशक ज्ञानेन्द्र देउजाको फिल्म भएकाले प्रिमियरमा धेरैजसो कलाकार र फिल्मकर्मीहरू पुगेका थिए। निर्देशक देउजानिकट साथीभाइ र शुभचिन्तकहरू फिल्म हेर्न पुग्ने नै भए। सोही क्रममा संगीतकार दाजुभाइ टीका बुढाथोकी र टंक बुढाथोकी पनि पुगेका थिए।
यतिबेला अशोक दर्जी अभिनीत फिल्म ‘पार्वती’ हलमा चलिरहेको छ। अर्कातर्फ टंकको नयाँ फिल्म ‘मन बिनाको धन २’मा भने अशोक छैनन्। यस्तो अवस्थामा मिडियामा प्रश्न चुलिने नै भयो। क्यामेराले चारैतिरबाट घेरेर मिडियाकर्मीहरूले ‘अशोकसँग तपाईंहरूको मनमुटाब भएको हो?’ भन्दै प्रश्न सोधिहाले।
प्रश्नको वर्षा नै भएपछि उक्त विषयमा अन्ततः टंक बुढाथोकीले मुख खोले। फिल्मको सबै काम सकिएको, केही दृश्य मात्र बाँकी रहेको सुनाए। अनि उनी प्रतीक्षित प्रश्न ‘फिल्ममा अशोक किन छैनन्’ भन्ने प्रश्नको जवाफतिर प्रवेश गरे। टंकका अनुसार अशोकले नै उनको फिल्म ‘मन बिनाको धन २’मा खेल्न मानेका होइनन्। त्यसैले आफ्नै छोरालाई खेलाउनु परेको उनको दाबी छ।
सञ्चारकर्मीहरू यतिमै रोकिने कुरै भएन। दाजु टीका बुढाथोकी भने निकै संयमित भएर कुराकानी गर्दै थिए। तर, टंकले भने आफूसँग अशोकको बोलचाल नरहेको र दाजु टीकासँग भने कुराकानी हुने गरेको खुलाए।
‘बोलचाल पनि छैन, केही पनि छैन मसँग। यति कुरा क्लियर हुनुस्,’ निकै रुष्ट सुनिँदै उनले भने, ‘दाइसँग बोल्छन्। दाइलाई फोन गर्छन् अथवा के गर्छन्!’ अशोकसँग टंक रुष्ट हुनुको कारण पनि सञ्चारकर्मीले खोतले।
अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘पार्वती’मा अशोकले अभिनय गरेपछि टंकलाई चित्त दुखेको आभास हुन्थ्यो। उनी थप्छन्, ‘अशोकसँग उसको आइरहेको फिल्म (पार्वती)को समयदेखि नै हेलो-हाई केही पनि छैन। यसमा लुकाएर लुक्ने केही कुरा छैन।’
झापाको दमकस्थित बेलडाँगीमा गीत गाउँदै हिँडेका बालकलाई काठमाडौंमा ल्याई गीत गाउन लगाएर हिरो बनाएपछि ‘आफूले गल्ती गरेको’ भाव उनले पोखे। आफ्नो फिल्म हलमा लाग्नुभन्दा एक महिनाअघि मात्रै यसबारे मुख खोल्ने सोचमा आफू रहेको उनले सुनाए।
मिडियामा यसअघि खासै नखुल्ने टंक बुधबार भने निकै मजाले खुले र अन्तर्वार्तामा मनका सबै कुरा ओकले। उनले सञ्चारकर्मीसँग भने, ‘एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ।’ अशोकलाई हिरो बनाइदिएको तर त्योभन्दा माथि कार र एरोप्लेनवाला सपना आफूले पूरा गरिदिन नसक्ने उनले बताए।
‘एउटा बच्चालाई मैले ‘हिरो’ बनाइदिएँ। त्योभन्दा अरू उसको कार, एरोप्लेनवाला सपना चाहिँ म पूरा गर्न सक्दिनँ। त्योभन्दा ठूला सपनाहरू त म आफ्नै छोराको पनि पूरा गर्न सक्दिनँ,’ टंकले भने।
फिल्म हेर्न पुगेका टीका र टंकले अशोकका बारेमा खुलेर बोलेपछि बुधबार राति १० बजेदेखि नै यो विषय सामाजिक सञ्जालमा भाइरल बन्यो। तर, लाखौं खर्च गरेर प्रिमियरमा मिडियाकर्मी डाकेको ‘झिँगे दाउ २’को निर्माण टिम भने खिन्न देखियो। जुन फिल्मको प्रिमियर थियो, त्यसको खासै चर्चा नै भएन; सामाजिक सञ्जालका अधिकांश भिडियो अशोक दर्जी र टंक बुढाथोकीबीचको विवादले चर्चा पायो।
न त यस फिल्मका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा र महेश त्रिपाठीको चर्चा भयो, न त निर्देशककै। चर्चा भयो त केवल अर्कै प्रसङ्गको! ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा गरिएको प्रिमियरलाई लिएर ‘पपकर्न, कफी र पेय पदार्थ ‘झिँगे दाउ २’को, गफ भने अर्कैको’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य चलिरहेको देखिन्छ।
हुन त यो फिल्मको मात्र होइन, नेपाली फिल्म र म्युजिक भिडियोका अधिकांश कार्यक्रममा यस्तै खाल्का घटनाहरू देखिँदै आएका छन्। कार्यक्रम एउटा विषयमा हुन्छ, तर बाहिर चर्चा अर्कै विषयको चुलिन्छ।
केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जनजस्ता कलाकारको चर्चा ओझेलमा पर्नु फिल्मकै प्रचार रणनीतिमा कैफियत त होइन?
आखिर दर्शकले हलमा पुगेर फिल्म हेरिदिए र निर्माताले कमाइ गरे त भइहाल्यो नि! कि कन्टेन्ट क्रिएटरहरूलाई पनि त कमाइ गर्न दिनुपर्यो, कि कसो? नत्र कि त मिडियालाई बोलाउनै भएन; बोलाइसकेपछि क्यामेराले केही न केही मसला झिकिहाल्छन् नि!
असोज १, २०८३ बिहीबार १८:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।