उमेरको चर्चा र बिराजसँगको पानी बाराबारबारे बोले निखिल

उमेरको चर्चा र बिराजसँगको पानी बाराबारबारे बोले निखिल

काठमाडौं : यतिबेला निखिल उप्रेती अभिनीत तथा निर्देशित फिल्म ‘आचार्य’को गीतको भिडियोलाई लिएर कतै चर्चा त कतै आलोचना भइरहेको छ। एकातिर उनको डान्सको तारिफ भइरहेको छ भने अर्कातिर आफूभन्दा निकै कम उमेरकी सजिना श्रेष्ठलाई हिरोइन बनाएको भनेर टीकाटिप्पणी पनि भइरहेको छ।

फिल्म हलमा लाग्न अब एक साता पनि बाँकी छैन। असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई लिएर चर्चा र आलोचना दुवै चले पनि सोचेजस्तो हाइप भने देखिएको छैन।

अहिलेसम्म निखिलले एक-दुई ठाउँबाहेक फिल्मको प्रचारप्रसारका लागि अन्तर्वार्ता दिएका पनि छैनन्। बिहीबार उनी गायक यस कुमारको म्युजिक भिडियो रिलिज कार्यक्रममा पुगेका थिए। तर त्यहाँ पुगेपछि सञ्चारकर्मीहरूले यस कुमारको गीत कस्तो लाग्यो भनेर सोध्दै सोधेनन्, बरु निखिलकै फिल्म र व्यक्तिगत विषयतिर कुरा मोडे।

कम उमेरकी हिरोइन र उनको डान्सको तारिफ गरिरहेका मिडियाकर्मीले निखिललाई सोधे, ‘आफ्नो छोरीको उमेरकी हिरोइनसँग फिल्म खेल्नुभयो रे नि?’

निखिल रिसाउने स्वभावमा थिएनन्। उनले हाँस्दै कथाको माग भन्दै जवाफ फर्काए, ‘मेरै उमेरका एक्ट्रेससँग खेल्दा फेरि कथालाई नमिल्ला नि त! फेरि त्यहाँ पनि प्रश्न उठिहाल्छ नि, होइन र?’

मिडियाकर्मीहरू यत्तिकैमा रोकिने पक्षमा देखिएनन्, उनीहरूलाई त 'कन्टेन्ट' चाहिएको थियो। त्यसपछि उनीहरूले बिराज भट्ट र निखिलबीचको पुरानो दुश्मनीको प्रसंग उप्काए। जय नेपाल हलमा पुगेका निखिललाई चारैतिरबाट घेरेर मिडियाकर्मीले सोधे, ‘बिराज भट्टसँग तपाईंको पानी बाराबार थियो भन्थे, अहिले फेरि एक-अर्काको टिजर सेयर गरिरहनुभएको छ; खास कुरा के थियो? बताइदिनु न!’

हँसिलो मुडमा रहेका निखिल कहाँ रिसाउँथे र! उनले थपे, ‘म पानी बाराबार भन्ने चिजलाई नै मान्दिनँ। मेरो त्यस्तो कसैसँग पनि पानी बाराबार भएको छैन। यो पानी बाराबार भन्ने शब्द नै परिवर्तन गर्नुपर्छ, मेरो सबैसँग राम्रो छ।’

हुन त, दर्शकले पत्याउन छाडेपछि एक-अर्काबीच बोलचाल त गर्नै पर्यो नि! झुक्किएर अघिल्लो वर्ष फिल्म ‘१२ गाउँ’ चल्यो भन्दैमा सधैँ त्यस्तै हुन्छ र? अहिले एन्ड्रोइड फोनझैँ मान्छेहरू हरेक कुरामा अपडेट भइसकेका छन्। उही पुरानै शैलीमा, कुनै प्रमोसन नै नगरी फिल्म चल्छ भन्ने भ्रममा परियो भने नडुबिएला भन्न सकिन्न है, निखिल जी! फिल्म हलमा लाग्दै छ भन्ने कुरा दर्शकलाई थाहा त हुनुपर्यो नि, होइन र? 

असोज १, २०८३ बिहीबार १७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।