काठमाडौं उपत्यकाका बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
काठमाडौं : काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकहरूको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सडक डिभिजन काठमाडौंले ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ।
सफल परीक्षणपश्चात् सञ्चालनमा ल्याइएको यस एपमार्फत नागरिकले सडक मर्मत सम्बन्धी आफ्ना गुनासो सीधा दर्ता गर्न सक्नेछन्।
एपमा दर्ता गरिएका गुनासोको सम्बोधन कुन चरणमा पुगेको छ भन्ने स्थिति नागरिकले प्रत्यक्ष रूपमा हेर्न पाउनेछन् भने मर्मत कार्य सम्पन्न भएपछि त्यसको जानकारी पनि एपबाटै प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ।
हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत एपबाट उपलब्ध गराइनेछ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउँदै एपलाई देशभर विस्तार गर्ने तयारी गरिएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेटेर सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने सडक डिभिजन काठमाडौंको लक्ष्य छ।
असोज १, २०८३ बिहीबार १३:०५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।