कापी-कलम समात्ने उमेरमा काखमा शिशु, १४ वर्षमै आमा

कापी-कलम समात्ने उमेरमा काखमा शिशु, १४ वर्षमै आमा
एआईको सहयोगमा बनाइएको तस्बिर

म्याग्दी : १४ वर्षको उमेर। हातमा कापी-कलम च्यापेर विद्यालय जाने, साथीसङ्गीसँग खेल्ने र भविष्यका सपना बुन्ने बेला हो।

तर, म्याग्दीकी एक बालिकाका लागि यो उमेर जीवनको बिल्कुलै फरक र कष्टकर मोड बनिदियो। उनी विद्यालयको पोसाकमा होइन, प्रदेश अस्पताल बेनीको प्रसूति वार्डमा सुत्केरीको रूपमा पुगिन् र १४ वर्षकै उमेरमा आमा बनिन्।

शारीरिक र मानसिक रूपमा आफैँ बालबालिका रहेको उमेरमा उनले अर्को एउटा नयाँ जीवनलाई जन्म दिइन्।

प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा. हेमन्त बास्तोलाका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा सुत्केरी सेवा लिन आएकामध्ये ती १४ वर्षीया किशोरी सबैभन्दा कम उमेरकी थिइन्।

“शरीर पूर्ण रूपमा परिपक्व नभई गर्भधारण गर्दा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ,” डा. बास्तोला भन्छन्, “१४ वर्षको उमेरमा आमा बन्नु स्वास्थ्यका दृष्टिले निकै जटिल र संवेदनशील अवस्था हो।”

१४ वर्षमै आमा बनेकी ती बालिका म्याग्दीको कुनै एक्लो घटना भने होइनन्; उनी जिल्लामा गहिरिँदै गएको कम उमेरमै आमा बन्ने डरलाग्दो प्रवृत्तिको एउटा प्रतिनिधि पात्र मात्र हुन्।

उमेर नपुग्दै मातृत्वको बोझ
प्रदेश अस्पताल बेनीको तथ्याङ्क पल्टाउने हो भने कलिलै उमेरमा मातृत्वको भारी बोक्न बाध्य किशोरीहरूको सङ्ख्या उल्लेख्य छ। गत आवमा १४ वर्षकी एक बालिकासहित १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जना किशोरीले यसै अस्पतालबाट प्रसूति सेवा लिएका छन्।

अस्पतालको पछिल्लो १४ महिनाको अभिलेखले अर्को गम्भीर सामाजिक यथार्थ पनि देखाउँछ। २० वर्षमुनि सुत्केरी हुन आएका किशोरीहरूमध्ये सबैभन्दा ठूलो हिस्सा विपन्न र सीमान्तकृत समुदायको छ।

तथ्याङ्कअनुसार कम उमेरमै आमा बन्नेहरूमा दलित समुदायका ६८.४ प्रतिशत अर्थात् ५२ जना छन्। त्यस्तै, जनजाति समुदायका १७ र ब्राह्मण/क्षेत्री समुदायका सात जना किशोरी रहेका छन्।

हरेक पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका
जिल्लाभरको अवस्था हेर्दा किशोरी अवस्थामै गर्भवती हुने समस्या भयावह बन्दै गएको देखिन्छ।

स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिल्लाभर प्रसूति सेवा लिएका कुल ५८५ जनामध्ये झन्डै पाँच भागको एक भाग अर्थात् ११६ जना (१९.८२ प्रतिशत) २० वर्षमुनिका थिए। तीमध्ये ६ जनाले अस्पतालसम्म नपुगी घरमै जोखिमपूर्ण तरिकाले बच्चा जन्माएका थिए।

अर्कोतर्फ, अनिच्छुक गर्भधारणका कारण सुरक्षित गर्भपतन गराउनेमा पनि किशोरीहरूको सङ्ख्या कम छैन। गत वर्ष जिल्लामा सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अर्थात् ४३ जना २० वर्षमुनिका थिए।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार यो क्रम अघिल्ला वर्षहरूमा पनि यस्तै थियो। आव २०८१/८२ मा सुत्केरी र सुरक्षित गर्भपतन सेवा लिने एक हजार ३८४ जनामध्ये १९० जना (१३.७२ प्रतिशत) २० वर्षमुनिका थिए भने आव २०८०/८१ मा सोही उमेर समूहका १६१ जना सुत्केरी भएका थिए र २९ जनाले गर्भपतन गराएका थिए।

विसं २०७८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेरका महिलाको सङ्ख्या २१ हजार १८३ छ। तर, यहाँका जम्मा ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेका छन्, जसले अनिच्छुक गर्भधारणको जोखिमलाई अझ बढाएको छ।

किन दोहोरिँदै छ बालविवाह ?
कानुनले २० वर्ष नपुगी गरिने विवाहलाई अवैध मानेको छ। तर, व्यवहारमा बालविवाह रोकिएको छैन, बरु यसको स्वरूप फेरिएको छ।

म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मीका अनुसार पहिले अभिभावकले विवाह गरिदिने चलन थियो भने अहिले सामाजिक सञ्जाल र मेलाजात्राका कारण किशोरीहरू आफैँ भागेर विवाह गर्ने र अनिच्छुक गर्भधारणको सिकार हुने क्रम बढेको छ।

“गरिबी, अभिभावकको निगरानी र संरक्षणको कमी तथा भावनात्मक आवेगमा परेर किशोरीहरू कलिलैमा विवाह गर्न र गर्भधारण गर्न बाध्य छन्”, उनी भन्छन्।

डा. बास्तोला पनि बालविवाह, विद्यालय छाड्ने प्रवृत्ति, गरिबी, लैङ्गिक असमानता र किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावजस्ता कारणहरू एकअर्कासँग जेलिएर यो समस्या आएको बताउँछन्।

सामाजिक र कानुनी उल्झन : एउटा निर्णय, बहुआयामिक संकट
सानै उमेरमा आमा बन्नुको असर स्वास्थ्यमा मात्र सीमित छैन। यसले किशोरीको सम्पूर्ण भविष्य नै अन्धकारतिर धकेलिदिन्छ।

विद्यालय तहकै पढाइ पूरा नहुँदै काखमा बच्चा आउँदा किशोरीहरूको पढाइ छुट्छ। उनीहरू उच्च शिक्षा र रोजगारीका अवसरबाट सधैँका लागि पछाडि पर्छन्।

मुलुकी देवानी संहिताअनुसार २० वर्ष नपुगी विवाह दर्ता हुँदैन। विवाह दर्ता नहुँदा बच्चाको जन्मदर्ता बन्न सक्दैन। परिणामस्वरुप, हुर्कँदै गएपछि बच्चालाई विद्यालय भर्ना गर्न, राज्यका सामाजिक सुरक्षा भत्ता लिन र अन्य सरकारी कागजात बनाउन ठूलो कानुनी समस्या आइपर्छ।

शारीरिक र मानसिक रूपमा परिपक्व नभई वैवाहिक जीवनमा बाँधिँदा उनीहरू पारिवारिक जिम्मेवारी सम्हाल्न सक्दैनन्, जसका कारण कलिलै उमेरमा सम्बन्धविच्छेद र पारिवारिक कलह बढ्ने गरेको छ।

निकासको बाटो
म्याग्दीको यो यथार्थले केवल कानुनी प्रतिबन्ध वा सचेतनाका भाषणले मात्र बालविवाह र कम उमेरको मातृत्व रोक्न नसकिने प्रष्ट पार्छ।

सरोकारवालाहरूका अनुसार यसलाई रोक्न किशोरीहरूलाई विद्यालयमा टिकाइराख्ने विशेष योजना, विपन्न परिवारको आर्थिक स्तर सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको व्यवहारिक कार्यान्वयन र जोखिममा रहेका बालबालिकाको समयमै पहिचान गरी संरक्षण गर्ने संयन्त्र स्थानीय तहमै प्रभावकारी बनाउनु अपरिहार्य भइसकेको छ।

नत्र, कापी-कलम समात्ने हातहरूमा जबर्जस्ती मातृत्वको बोझ थपिने क्रम रोकिने छैन।

सम्पादनसहित प्रकाशित राससको सामग्री

भदौ ३१, २०८३ बुधबार ०७:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।