नसच्चिएका सुरजसिंह : टिभीमा जुवाको विज्ञापन, युट्युबमा आईसीयूको तमासा !
काठमाडौं : टेलिभिजनको कार्यस्थल होस् वा युट्युबको क्यामेरा, सुरजसिंह ठकुरी जहाँ पुगे पनि नियम, कानुन र व्यावसायिक सीमाहरू तोड्ने काम गर्छन्।
एक वर्षअघिसम्म कान्तिपुर टेलिभिजन नेटवर्कको चिफ अपरेटिङ अफिसर(सीओओ)को पदमा रहँदा, ठकुरीले प्रतिबन्धित अनलाइन जुवा (बेटिङ)का सरोगेट र प्रत्यक्ष विज्ञापन प्रसारण गरेर कानुनको धज्जी उडाएका उनी अहिले युट्युबर बनेका छन्। टेलिभिजनमा कुन सामग्री प्रसारण गर्ने भन्ने विषय चिफ अपरेटिङ अफिसरकै नेतृत्वमा हुने गर्छ।
तर, प्लेटफर्म फेरिए पनि सस्तो लोकप्रियता, व्यापार र भ्युजका लागि उनी नियम मिच्दै झनै असंवेदनशील बन्दै गएका देखिन्छन्। यसको पछिल्लो र चरम नमुना हो- नेपाली सेनाको छाउनीस्थित अस्पतालको अति संवेदनशील क्षेत्र आईसीयूभित्रको अन्तर्वार्ता।
आईसीयु बन्यो युट्युब ‘स्टुडियो’
युट्युबमा ‘इन्साइड दि बङ्कर’ नामक कार्यक्रम चलाइरहेका ठकुरीले त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको बाढीपहिरोबाट मुस्किलले बाँचेर सैनिक अस्पतालको आईसीयुमा उपचार गराइरहेका दुई गम्भीर घाइते सञ्जय शाह र कबिर महर्जनको आईसीयूभित्रै अन्तर्वार्ता लिएका छन्।
अन्तर्राष्ट्रिय मापदण्ड (सीडीसी र एससीसीएम) अनुसार आईसीयु भनेको अस्पतालजन्य घातक सङ्क्रमणबाट बिरामीलाई बचाउन कडा रूपमा ‘स्टेराइल’ राखिने अति संवेदनशील क्षेत्र हो।
यहाँ बिरामीका आफ्नै परिवारलाई समेत दैनिक १५ मिनेटभन्दा बढी बस्न दिइँदैन, त्यहाँ सुरजसिंहले क्यामरा, लाइट र माइकसहितको टोली लिएर करिब दुई घण्टासम्म बिरामीसँग अन्तर्वार्ता लिए।
सार्वजनिक भिडियोमै प्रस्ट देखिन्छ- उनले न त हातमा पञ्जा लगाएका छन्, न मुखमा मास्क। कपाल समेत खुला छ। गम्भीर मानसिक ‘ट्रमा’ र शारीरिक पीडा भएका बिरामीलाई मास्कसमेत नलगाई क्यामेराअगाडि बोल्न बाध्य पारिएको छ।
“परिवार भेट्न जाँदा डाक्टरले संक्रमण हुन्छ भनेर छिटो निस्कन भन्थे, तर सुरजसिंहको टोली दुई घण्टा भित्रै बसेर सुटिङ गरेछ। बल्लतल्ल बाँचेका हाम्रा मान्छेलाई केही भयो भने कसले जिम्मा लिन्छ?”, एक घाइतेका आफन्तले आक्रोश पोखे।
स्वास्थ्य सचिव डा. विकास देवकोटा र त्रिवि शिक्षण अस्पतालका आइसीयु विज्ञहरूले यसलाई ‘चरम लापरबाही र चिकित्सा आचारसंहिताको ठाडो उल्लङ्घन’ भनेका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार यस्तो कार्य पूर्णतः गैरकानुनी र अनैतिक हो।
तर, नियम मिच्न माहिर ठकुरीले सैनिक मुख्यालयबाटै अन्तर्वार्ता लिने ‘लिखित अनुमति’को पत्र बोकेर गएपछि अस्पतालका चिकित्सकसमेत निरीह बनेका थिए।
आईसीयुभित्र गएर उनले के आधारमा घाइतेको अन्तर्वार्ता खिचे अनि उनलाई कसले अनुमति दिएको हो? यसबारे थप बुझ्न उकेराले ठकुरीलाई पटक-पटक सम्पर्क गर्ने प्रयास गर्यो। तर उनको मोबाइल स्वीच अफ थियो। उकेराले उनलाई सम्पर्क गर्न खोज्नुको कारण खुलाएर सन्देश पठाए पनि उनीबाट कुनै रेस्पोन्स आएन।
हिजो टिभीमा जुवाको धन्दा, आज युट्युबमा स्टन्ट
सुरजसिंह विवादमा तानिएको र कानुनलाई चुनौती दिएको यो पहिलो पटक भने होइन। कान्तिपुर म्याक्स टेलिभिजनको नेतृत्व सम्हाल्दा उनले निर्लज्ज रूपमा देशको कानुन मिचेर अनलाइन जुवाका कम्पनीहरूको प्रचार गरेका थिए।
आईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारणका क्रममा उनले नेपालमा प्रतिबन्धित ‘मेलबेट’को सरोगेट ब्राण्ड ‘मेलब्याट’लाई स्क्रिनको केन्द्रमा राखे। विज्ञापन बोर्डले स्पष्टीकरण सोध्यो, तर त्यसलाई रद्दीको टोकरीमा फाल्दै उनले झन् ठूलो साइजमा जुवाको प्रचार गरे।
त्यति मात्र होइन, गत वर्ष अस्ट्रेलियामा भएको ‘टप एन्ड टी-२०’ सिरिजको प्रसारणमा त उनले सरोगेटको आवरणसमेत त्यागेर सिधै ‘बीजे८८’, ‘डाफाबेट’ र ‘३६५बेट’ जस्ता खतरनाक अनलाइन जुवा कम्पनीका प्रत्यक्ष विज्ञापन रिप्ले र स्कोरबोर्डमा ठोकिदिए।
त्यतिबेलै उकेराले जुवाको प्रचार टेलिभिजनले गरेको विषयमा जानकारी गराएपछि प्रमुख सञ्चालन अधिकृत (सीओओ) रहेका उनीसँग सम्पर्क गर्दा उनले ‘एकछिन है मार्केटिङले हेर्दैछ, म एकछिनमा फोन गर्छु’ भनेर फोन काटे। तर पछि उनले फोन गर्नु त परको कुरा, गरेको फोन समेत उठाउन छाडे।
कानुन र नैतिकतामाथि प्रहार
टेलिभिजनको पर्दामा कानुनले बर्जित गरेको जुवाको विज्ञापन बेचेर पैसा कमाउने ध्याउन्न होस् वा युट्युबमा बिरामीको आईसीयु बेडलाई स्टुडियो बनाएर ‘भ्युज र सब्स्क्राइबर’ बटुल्ने लालसा- सुरजसिंहको कार्यशैलीमा कुनै फरक आएको छैन।
संस्थागत टेलिभिजनबाट बाहिरिएर युट्युबमा आएपछि पनि उनी सच्चिएनन्। बरु आफ्नो डिजिटल प्लेटफर्मलाई झन् संवेदनहीन बनाए। टिभीको पर्दाबाट युट्युबको क्यामेरासम्म आइपुग्दा उनले केवल प्लेटफर्म मात्र फेरे, कानुन र मानवीय मर्यादा मिच्ने उनको ‘हर्कत’ भने अझै उस्तै देखियो।
सम्बन्धित समाचार:
भदौ २९, २०८३ सोमबार १०:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।