सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, चार घाइते

सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, चार घाइते

सर्लाही : सर्लाहीमा भएका दुई छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। कबिलासीमा मोटरसाइकल दुर्घटनामा दुई जना र बागमतीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको हो।

मलङ्गवा-नवलपुर सडकखण्डअन्तर्गत कबिलासी नगरपालिका-७, सिर्सियामा मङ्गलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु भएको छ।

मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै चालकको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र भारतीय नम्बरको मोटरसाइकल चलाइरहेका कबिलासी नगरपालिका-८ का २६ वर्षीय पप्पु पासवान रहेका छन्।

दुर्घटनामा भारतीय मोटरसाइकलको पछाडि सवार कबिलासी-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा-६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन्।

टाउको, अनुहार र खुट्टामा चोट लागेका उनीहरूलाई मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते
यसैबीच, सर्लाहीको बागमतीमा मङ्गलबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

बागमती नगरपालिका-४, गोले टोलमा परेको चट्याङ लागेर स्थानीय ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

चट्याङबाट सोही ठाउँका हस्तबहादुर बोम्जनकी ११ वर्षीया छोरी प्रतिमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा घाइते भएका छन्।

प्रतिमालाई स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारार्थ वीरगन्ज पठाइएको छ भने पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको डीएसपी गौतमले जानकारी दिए।

भदौ ३१, २०८३ बुधबार ०७:२०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।