कांग्रेस महाधिवेशनमा नेता र कार्यकर्ता रोक्न विशेष महाधिवेशन विपक्षी समूहले देउवाको नाममा निकाल्यो अपिल
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेको समूहले पार्टीले अगाडि बढाएको महाधिवेशनमा सहभागी नहुन निवर्तमान सभापति शेरबहादुर देउवाको नाममा अपिल जारी गरेको छ।
१५ औँ महाधिवेशन रोक्न सर्वोच्च अदालत पुग्दा समेत कानुनी रूपमा सम्भव नभएपछि सो समूहले मंगलबार विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्त विपरीतको काम भएको दाबी सहित देउवाको नाममा अपिल जारी गरेको हो।
यता विशेष महाधिवेशनबाट निर्वाचित समूहले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्दै तयारी अगाडि बढाएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका र विपक्षमा रहेकाहरूलाई समेत नियमित महाधिवेशनमा सहभागी हुन तत्कालीन केन्द्रीय सदस्यदेखि क्रियशिल सदस्यसम्मलाई मान्यता दिने निर्णयपछि विशेष महाधिवेशनको विपक्षमा रहेका नेता तथा कार्यकर्ताहरू समेत नियमित महाधिवेशनमा संलग्न हुन फर्किने क्रम बढेको छ।
पूर्णबहादुर खड्कासहितको समूह पछिल्लो समय शशाङ्क कोइरालाले नेतृत्व गरेको समूहको गतिविधिमा संलग्न हुन छाडिसकेका छन्। नियमित महाधिवेशनको तयारी तीव्र भएसँगै मंगलबार देउवाको नाममा जारी भएको अपिलमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको दाबी सहित एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारेख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त नहुने तर्क गरिएको छ।
“कथित विशेष महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होइन, बरु पार्टी भित्र सहमति हुन सक्ने पर्याप्त सम्भावना हुँदा हुँदै सहमतिको अवसरलाई लत्याएर बहुसङ्ख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ” अपिलमा लेखिएको छ।
अपिलमा अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका सबै नेता र कार्यकर्तामा देउवाले अनुरोध गरेका छन्।
“मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,” अपिलमा लेखिएको छ “देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।”
अपिलमा विशेष महाधिवेशनको विपक्षमा रहेको समूहले तोकेको मंसिर २१, २२ र २३ गतेको महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको उल्लेख छ।
भदौ ३०, २०८३ मंगलबार १६:३९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।