कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
चितवन : पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ। सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो।
यही भदौ १४ गते रसुवाको भोटेकवशी हुँदै त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ। दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ। नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ।
केही दिनभित्रै काम सम्पन्न गर्नेगरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिए।
यो राजधानी काठमाडौं जोड्ने मुख्य राजमार्ग हो। यो सडक हुँदै दैनिक १४ हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्। अहिले सडक रोकिँदा मुख्य रुपमा ग्याससहित खाद्यान्नको अभाव राजधानीले बेहोर्नु परेको छ।
भदौ २८, २०८३ आइतबार १७:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।