बाढीको दुई घाइतेको स्वास्थ्यमा सेनाको गम्भीर खेलबाड, सुरजसिंहले सैनिक आइसियुलाई बनाए युट्युबको स्टुडियो
काठमाडौं : सुरजसिंह ठकुरीले आइसियु प्रोटोकल मिचेर नेपाली सेनाको आइसियुमा उपचाररत दुई घाइते सञ्जय शाह र कबिर महर्जनको अन्तर्वार्ता लिएका छन्। यसमा सैनिक निर्देशनालयले नै अनुमती दिएको समेत खुलेको छ।
युट्युबमा ‘इनसाइड दि बङ्कर’ कार्यक्रम चलाउँदै आएका ठकुरीले स्वास्थ्य अवस्था जटिल भएर उपचारका लागि नेपाली सेनाको छाउनीमा रहेको सैनिक अस्पतालको आइसियुमा रहेका दुई घाइतेको आइसियु कक्षभित्रै अन्तर्वार्ता लिएका हुन्।
अन्तर्वार्ताको प्रोमोमा महर्जन र साह समेत देखिएका छन्। साह शुक्रवार अस्पतालबाट डिस्चार्ज भएकाले यो अन्तर्वार्ता शुक्रवार अगाडि नै खिचिएको देखिन्छ।
आइसियुभित्र उपचारमा रहेका बिरामी तथा घाइतेको अन्तर्वार्ता लिनु प्रोटोकल भित्र पर्छ? उकेराले चिकित्सक समेत रहेका स्वास्थ्य सचिव डा विकाश देवकोटालाई प्रश्न सोध्दा उनले भने “मिल्दैन।”
सेनाको प्रत्यक्ष नियन्त्रणमा रहेको अस्पतालको आइसीयुमा ठकुरीले टिमसहित कसरी पहुँच पाए? यसबारे उकेराले सेनाका प्रवक्ता राजाराज बस्नेतसँग प्रश्न सोधेको थियो। उनले भने “यो विषयमा मलाई जानकारी छैन। सम्बन्धित निकायबाट अनुमति लिएको होला।”
बस्नेतले जानकारी नभएको दाबी त गरे तर उच्च स्रोतबाट उकेराले पाएको जानकारी अनुसार ठकुरीलाई सैनिक अस्पतालको आइसीयुमा रहेका दुई घाइतेको अन्तर्वार्ता खिच्न अनुमति सैनिक मुख्यालयले नै दिएको खुल्यो।
नाम उल्लेख गर्न नचाहने सो स्रोतका अनुसार ठकुरी सैनिक मुख्यालयबाट दुबै घाइतेको अन्तर्वार्ता खिच्न दिन अनुमति दिएको लिखित पत्र बोकेर अस्पताल पुगेका थिए। उनले त्यहाँ रहेका चिकित्सक टिमलाई सैनिक मुख्यालयबाट आइसीयुमा उपचाररत साह र महर्जनको अन्तर्वार्ता लिन दिन लेखिएको पत्र देखाएका थिए।
सो काम मेडिकलको आइसीयु प्रोटोकल विपरीत रहेको र उपचाररत घाइतेको स्वास्थ्यमा सङ्क्रमणको जोखिम हुन्छ नै। तर आफ्नै मुख्यालयले नै अनुमति दिएको पत्र देखाएपछि सैनिक अस्पतालका चिकित्सकले ठकुरीलाई रोक्न सकेनन्। अनि ठकुरी आफ्नो टिमसहित आइसियूमा गएर करिब दुई घण्टासम्म दुबै घाइतेसँग सवाल जवाफ गर्दै भिडियो खिचेर बाहिरिए।
अनि आइतबार सामाजिक सञ्जालमा मेडिकल प्रोटोकल मिचेर खिचिएको भिडियो प्रोमोसहित इनसाइड द बंकर पेजमा लेखियो “ इन्साइड दि आइसीयु, एक्सक्लुसिभ इन्टरभ्यु त्रिशूली थ्री ए सर्भाइवर।”
युट्युवमा प्रशारण हुने कार्यक्रमको फेसबुक पेजमा राखिएको प्रोमोसहित अन्तर्वार्ता सम्बन्धित व्यक्तिहरूको सहमति, चिकित्सकहरूको उपस्थितिमा र स्वास्थ्य तथा सुरक्षासम्बन्धी आवश्यक प्रोटोकल पालना गर्दै रेकर्ड गरिएको दाबी गरिएको छ।
सहभागीहरूको शारीरिक तथा मानसिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको दाबी समेत गरिएको छ। तर घाइतेको परिवारसँग अनुमती लिइएको खुलेन। आइसियुमा उपचाररत दुबै घाइतेको स्वास्थ्यमा कुन हदसम्म लापर्वाही गरियो भन्ने सार्वजनिक भएको भिडियोको प्रोमो नै बलियो प्रमाण बन्यो।
आफन्त वा चिकित्सकआइसियुभित्र जाँदा उपचाररतलाई संक्रमण नहोस् भनेर त्यही राखिएको कभर पोशाक र मुखमा मास्क अनिवार्य हुन्छ। तर सार्वजनिक भएको भिडियोमा सुरजले काम चलाउने शैलीमा आइसियुमा जाँदा लगाउने पोसाक त लगाएका छन्, तर उनको मुखमा मास्क छैन। घाइतेले पनि मास्क लगाएका छैनन्।
आइसीयुभित्र गएर उनले के आधारमा घाइतेको अन्तर्वार्ता खिचे अनि उनलाई कसले अनुमति दिएको हो? यसबारे थप बुझ्न उकेराकर्मीले ठकुरीलाई पटक पटक सम्पर्क गर्ने प्रयास गर्यो। तर उनको मोबाइल स्विच अफ थियो। उकेराले उनलाई सम्पर्क गर्न खोज्नुको कारण खुलाएर सन्देश पठाए पनि उनीबाट कुनै रेस्पोन्स आएन।
आइसीयुको प्रोटोकल के हो ?
स्वास्थ्य अवस्था गम्भीर भएर २४ घण्टा निरन्तर निगरानी राख्नुपर्ने तथा अत्याधुनिक मेडिकल उपकरण समेतको सहयोगमा उपचार गर्नुपर्ने बिरामीलाई आइसीयुमा राखिन्छ। सङ्क्रमण लगायतको उच्च जोखिम भएकाले नै आइसीयुमा अत्यावश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेकलाई प्रवेश गर्न दिइनन्।
स्वास्थ्य जोखिम हेरेरै घाइते वा बिरामीको आफन्तलाई समेत अत्यावश्यक अवस्थामा निश्चित अवधि मात्र भित्र छिर्न दिइन्छ। तर यहाँ त आफन्त हैन, प्रश्न सोध्ने र भिडियो खिच्ने पुरै टिमलाई २ घन्टा राखेर आइसीयुमा यूट्युवको स्टुडियो नै बनाइयो।
अन्तर्वार्ता लिनेबारे घाइतेका परिवारलाई समेत जानकारी दिएको देखिएन। उनीहरूलाई सैनिक अस्पतालका एक चिकित्सकले भिडियो खिच्न आएका छन् भनेर जानकारी दिइएको तर आइसियू भित्रै, पुरै टिमै राखेर दुई घण्टासम्म खिच्ने नभनिएको एक घाइतेका परिवारले उकेरालाई बताए।
उद्धारपछि सेनाको अस्पतालमा उपचार गरिएका साह र महर्जनको परिवारमध्येका एक सदस्यले उकेरालाई भने “परिवारका सदस्य भेट्न जाँदा समेत चिकित्सकले धेरै धेर नबस्नु, संक्रमण हुन सक्छ भन्नुहुनुथ्यो। तर दुई घण्टा समूहै छिरेर अन्तर्वार्ता लिएछन्। त्यसरी आइसीयुमा अन्तर्वार्ता लिन पाइन्छ र? सुरज सिंहले हामीसँग कुरा पनि गरेका छैनन्। बल्ल बल्ल बाँचेर आएका हाम्रो सदस्यलाई केही भयो भने कसले जिम्मा लिन्छ? ”
बाढीका घाइतेको उपचारको जिम्मा सरकारले लिएको छ र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गरिरहेको छ। यसबारे हामीले स्वास्थ्य सचिव डा. देवकोटासँग पनि सोध्यौ। उनले “आइसीयुमा अन्तर्वार्ता लिन मिल्दैन” भने।
उकेराकर्मीसँगको कुराकानीको सुरुवातमा देवकोटासँग आइसीयुमा उपचाररत घाइतेको अन्तर्वार्ता लिन मिल्छ र भनेर सोधेको थियो। उनले नमिल्ने बताए। अनि उकेराकर्मीले सेनाको अस्पतालको आइसीयुमा भर्ना गरिएका साह र महर्जनको अन्तर्वार्ता लिइएको विषयबारे जानकारी दिएर थप प्रतिक्रिया माग्दा उनले मन्त्रालयका प्रवक्तालाई सोध्न भने।
“...आइसीयुमा त कहाँ त्यस्तो हुन्छ त? मेडिकल्ली त आइसीयुमा बसेको बिरामीको सघन उपचार हुन्छ। प्रायजसो मान्छेहरू बेहोसी अवस्थामा हुन्छन्, अप्ठेरो अवस्थामा हुन्छन्” उनले उकेरासँग भने।
विज्ञ भन्छन्, “आइसीयुमा अन्तर्वार्ता लिनु चरम लापरबाही”
यसबारे हामीले आइसीयुबारे जानकार विज्ञ चिकित्सकहरूसँग समेत जिज्ञासा राखेका थियौ। उकेराले सम्पर्क गरेको कुनै पनि विज्ञले आइसीयुमा भएका बिरामीको अन्तर्वार्ता लिन टिमै पठाउन नमिल्ने बताए। उनीहरूले यसलाई प्रस्ट उपचाररतको स्वास्थ्यप्रति चरम लापरबाही गरिएको बताए।
नेपाल मेडिकल काउन्सिलका एक पदाधिकारीले पनि आइसीयुमा फोटो वा भिडियो खिच्न तथा अन्तर्वार्ता लिन नमिल्ने जानकारी दिए। मेडिकल काउन्सिलका ती पदाधिकारीले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने, “त्यो मिल्दैन। पहिले पनि धेरै पटक सर्कुलर जारी भएको हो। खै के खै के!”
यो चिकित्सकको आचार संहितामा पनि नपर्ने काउन्सिलका ती पदाधिकारीले जानकारी दिए। यसबारे त्रिवि शिक्षण अस्पतालका एक आइसीयु विज्ञले “आइसीयु भित्र भिडियो अन्तर्वार्ता गर्ने अनुमति दिनै नमिल्ने बताए। कुनै बिरामीको विदेशमा परिवार भएको र अर्जेन्ट पर्यो भने बिरामीको अनुमतिमा आइसीयुको डाक्टर, नर्स बसेर भिडियो कल गर्न सकिने तर, मिडियाको टिमै सहित (भिडियो) खिचाउनु त गम्भीर विषय भयो।”
उनीहरूले आइसीयुमा भर्ना भएका बिरामीसँग मिडिया लगायत धेरै व्यक्तिलाई भेट्न जान नदिनुको मुख्य उद्देश्य बिरामीको स्वास्थ्यमा पर्न सक्ने जोखिम नै देखियो।
“आइसीयु भित्र गम्भीर बिरामी हुन्छन्। कि त बिरामी ठिक भएर बाहिर सारिए अन्तर्वार्ता लिनु ठिकै होला । तर, आइसीयुको बिरामीसँग त मिल्दैन” अर्का एक चिकित्सकले भने।
नाम नखुलाउने सर्तमा आइसीयु विज्ञ चिकित्सकले भने, “त्यो त (आइसीयुमा महर्जन र साहको भिडियो लिनु) लिनु इथिकली ठिक हैन।”
अन्तर्राष्ट्रिय रूपमा आइसीयुको ‘गाइडलाइन’ नै भएको तर नेपालमा भने यस्तो एकिन ‘गाइडलाइन’ नभए पनि आइसीयुमा मिडियालाई अन्तर्वार्ता लिन नदिइने आइसीयु विज्ञले जानकारी दिए।
कस्तो छ अन्तर्राष्ट्रिय अभ्यास ?
इन्टिन्सिभ केयर युनिट (ICU) मा भर्ना हुने बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय प्रोटोकल (SCCM र CDC गाइडलाइन) अनुसार आइसियुमा हावाको चाप, एचईपीए फिल्टर र कडा स्टेराइल प्रोटोकल अपनाइन्छ।
बाहिरी व्यक्ति, अझ क्यामेरा र माइकसहितको मिडिया टोली प्रवेश गर्दा बिरामीमा अस्पतालजन्य सङ्क्रमण जस्तै भेन्टिलेटर-सम्बन्धित निमोनिया, सेप्सिस वा मल्टि-ड्रग रेसिस्टेन्ट ब्याक्टेरियाको जोखिम सयौँ गुणा बढ्छ।
अमेरिकाको HIPAA (Health Insurance Portability and Accountability Act) होस् वा युरोपियन युनियनको GDPR वा अन्तर्राष्ट्रिय चिकित्सा आचारसंहिता,कुनै पनि बिरामी, विशेष गरी आघात वा आइसियुमा रहेका व्यक्तिको मन्जुरी बिना उनको फोटो, भिडियो वा व्यक्तिगत विवरण सार्वजनिक गर्न पूर्ण रूपमा निषेध हुन्छ।
गम्भीर शारीरिक वा मानसिक पीडामा रहेको बिरामीसँग अन्तर्वार्ता लिनु उसको मनोवैज्ञानिक शोषण समेत मानिन्छ।
अन्तर्राष्ट्रिय अस्पतालहरूमा आइसियु भिजिटिङ आवर्स अत्यन्तै सीमित गरिएको हुन्छ। यस्तोमा तोकिएका नजिकका नातेदारका लागि अधिकतम दिनमा १५ देखि ३० मिनेट तोकिन्छ। एक पटकमा एक वा बढीमा दुई जनालाई मात्र पस्न दिइन्छ। युट्युबको सुटिङका लागि २ घण्टासम्म क्यामेरापर्सन र एंकरभित्रै बस्नु अन्तर्राष्ट्रिय चिकित्सा मापदण्डको ठाडो खिल्ली उडाउनु हो।
विश्वका कुनै पनि विकसित वा व्यवस्थित देशका अस्पतालहरूमा, विशेष गरी सैनिक वा इमर्जेन्सी आइसियु कक्षभित्र व्यावसायिक वा मनोरञ्जनात्मक भिडियो खिच्ने अनुमति कसैलाई दिइँदैन। यदि बिरामीको हालचाल दिनुपरेमा अस्पतालको आधिकारिक व्यक्ति वा चिकित्सकले मात्र सीमित सूचना जारी गर्छन्, न कि युट्युबरलाई भित्र छिराएर तमासा बनाइन्छ।
भदौ २८, २०८३ आइतबार १८:४४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।