भारत सरकारको कडाइपछि बाल यौन दुर्व्यवहारका घटनाहरू सीधै साइबर अपराध पोर्टलमा रिपोर्ट गर्न मेटा सहमत
एजेन्सी : मेटाले सामाजिक सञ्जालमार्फत बालबालिकामाथि हुने दुर्व्यवहार तथा यौन शोषणजन्य घटनाहरू सीधै भारतीय साइबर अपराध पोर्टलमा रिपोर्ट गर्ने प्रतिबद्धता जनाएको छ।
भारतीय सरकारले बाल सुरक्षा र हानिकारक सामग्री नियन्त्रणका लागि थालेको कडाइपछि मेटाले बाल सुरक्षा सम्बन्धी विषय सुरक्षा निकायलाई रिपोर्ट गर्न सहमति जनाएको हो।
मेटाले भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएर यस कुराको पुष्टि गरेको मन्त्रालयका अधिकारीहरूले मङ्गलवार जानकारी दिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
यसअघि मेटाले बाल सुरक्षासम्बन्धी घटनाहरू अमेरिकास्थित 'नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सपलोयटेड चिल्ड्रेन' मार्फत मात्र रिपोर्ट गर्ने गर्दथ्यो। आफ्नो रणनीतिमा परिवर्तन गर्दै मेटाका प्रवक्ताले भनेका छन् कि बालबालिकाको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता हो र अपराध गर्ने अपराधीहरूलाई जवाफदेही बनाउन सरकारसँग मिलेर काम गर्न कम्पनी प्रतिबद्ध छ।
भारत सरकारले सामाजिक सञ्जालमार्फत फैलिने हानिकारक सूचना नियन्त्रण गर्ने र अनलाइनमा बालबालिकाको सुरक्षा थप मजबुत बनाउने विषयमा विभिन्न सामाजिक सञ्जाल कम्पनीसँग निरन्तर छलफल गरिरहेको जनाएको छ।
भारत सरकारको प्रतिक्रिया: "यो पहिलो कदम मात्र हो"
भारत सरकारले आफ्नो देशमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मका लागि बालबालिकाको अनलाइन सुरक्षा आधारभूत सिद्धान्त भएको बताएको छ। सरकारले बाल सुरक्षा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने विषय अर्थात् ‘नन–नेगोशिएबल’ भएको स्पष्ट पारेको छ।
मेटाको यस निर्णयलाई सरकारले बालबालिकाका लागि सामाजिक सञ्जाल सुरक्षित बनाउने दिशामा 'पहिलो कदम' भएको बताएको छ। यद्यपि, बालबालिकाको अनलाइन सुरक्षा सुनिश्चित गर्न अझ धेरै काम गर्न बाँकी रहेको सरकारको भनाइ छ।
साथै, भारत सरकारले अन्य सामाजिक सञ्जाल प्लेटफर्मसँग पनि बालबालिकासँग सम्बन्धित हानिकारक सामग्री तुरुन्त पहिचान गरी हटाउने विषयमा छलफल जारी राखेको जनाएको छ। यस्तै, सरकारले बालबालिकाको सुरक्षा र अनलाइन सुरक्षाका लागि सक्रिय कदम नचाल्ने प्लेटफर्ममाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।
बाल यौन दुर्व्यवहार सामग्रीबारे मेटामाथि छानबिन
इन्स्टाग्रामका विज्ञापनहरूमा बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी सामग्री देखिएको आरोपबारे अनुसन्धान गर्न राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले मेटा इन्डियाका कार्यकारीहरूलाई बोलाएपछि यो विषय सतहमा आएको हो।
'टेक ट्रान्सपरेन्सी प्रोजेक्ट' को हालै प्रकाशित प्रतिवेदन अनुसार मेटाका ३०० भन्दा बढी विज्ञापनहरूमा बाल यौन दुर्व्यवहार सामग्री भेटिएका थिए। तीमध्ये केही सामग्रीमा वास्तविक बालबालिकाका तस्बिरहरूलाई एआई मार्फत परिमार्जन गरिएको थियो। उक्त प्रतिवेदन सार्वजनिक भएपछि मेटाले ती अधिकांश विज्ञापनहरू हटाएको थियो।
बाल सुरक्षाका लागि एआईसहित विभिन्न प्रविधि प्रयोग गर्दै मेटा
मेटाले बाल शोषणसम्बन्धी सामग्री पहिचान गरी हटाउन एआईमा आधारित प्रणाली, ‘ह्यास म्याचिङ’लगायत विभिन्न प्रविधि प्रयोग गर्दै आएको बताएको छ। सन् २०२६ को पहिलो छ महिनामा मेटाले विश्वभर बाल शोषणसँग जोडिएका करिब ४० लाख खाताहरू र ३ करोड ६० लाख सामग्रीहरू हटाएको जनाएको छ। सोही अवधिमा भारतमा मात्रै बाल सुरक्षा नीतिको उल्लङ्घन गरेको आरोपमा करिब एक लाख ६० हजार खाताहरू निस्क्रिय पारिएका थिए।
भदौ ३०, २०८३ मंगलबार १२:५८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।