तिथि टुट्दा गणेश चतुर्थी र ऋषिपञ्चमी आज एकै दिन मनाइँदै
काठमाडौं : यस वर्ष चौथी तिथि टुटेका कारण गणेश चतुर्थी र नारीहरूको विशेष पर्व ऋषिपञ्चमी आज एकै दिन मनाइँदै छ।
हरितालिका तीजको भोलिपल्ट नै दुई वटा पर्व एकसाथ परेपछि बिहानैदेखि देशभरका मन्दिर तथा नदी किनारहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको धार्मिक मान्यता छ। सुखद दाम्पत्य जीवन र पारिवारिक सुखशान्तिका लागि तीजको व्रत पारायण गरी जीवनमा कुनै विघ्नबाधा नआओस् भनेर आज गणेशको पूजा गरिन्छ।
यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजाआजा भइरहेको छ।
नेवार समुदायले आजको दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँदै बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने गर्छन्।
राष्ट्रिय धर्मसभा नेपालले पनि तिथि जुधेका कारण आजै पूजाआराधना र गणेश रथयात्रा आयोजना गरेको धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईले बताए।
यसैगरी, आजै महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी ऋषिपञ्चमी पर्व पनि मनाउँदै छन्। बिहानै नदी, खोला, ताल वा पोखरीमा पुगेर ३६५ वटा दत्तिउनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने परम्परा छ।
रजस्वलाका समयमा जानी-नजानी भएका त्रुटि वा छुवाछुतको दोष निवारणका लागि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र (सप्तऋषि)को पूजा गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
स्नान र पूजापछि आज नरोपी उम्रिएका अन्न (सामा, कागुनो), कन्दमूल र कर्कलो खाएर एक छाक हविष्य बस्ने गरिन्छ।
यस अवसरमा काठमाडौंको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिर तथा तीर्थस्थलहरूमा महिला भक्तजनहरूको ठूलो भीड लागेको छ।
भदौ ३०, २०८३ मंगलबार ०७:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।