बक्स अफिसमा फिल्म 'पार्वती'को कमाइ दुई करोड नाघ्यो, लगानी उठाउन अझै चुनौती

बक्स अफिसमा फिल्म 'पार्वती'को कमाइ दुई करोड नाघ्यो, लगानी उठाउन अझै चुनौती

काठमाडौं : रसुवामा गएको बाढीका कारण सिर्जित विषम परिस्थितिका बाबजुद नेपाली फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा दुई करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। प्रदर्शनको तेस्रो हप्तामा चलिरहेको यस फिल्मलाई आइतबारसम्म हलमा ७३ हजार २९३ जना दर्शकले हेरिसकेका छन्। 

सोमबार चलचित्र विकास बोर्डले आइतबार रातीसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दा फिल्मको ग्रस कलेक्सन २ करोड ८५ हजार रुपैयाँ रहेको छ। नीता ढुङ्गानाको कथा, अभिनय तथा निर्देशनमा निर्माण भएको यो फिल्म लगानीको हिसाबले फ्लप भइसकेको छ। तर अझैँ एक हप्ता नयाँ फिल्म नआउने हुँदा फिल्मको कमाई बढ्ने देखिन्छ।

निर्माण पक्षका अनुसार फिल्मको लगानी डेढ करोड हाराहारी छ। बक्स अफिस रिपोर्टअनुसार फिल्मको लगानी उठाउन अझै डेढ करोडमाथिको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ। तर प्रतिकूल समयमा पनि फिल्मले २ करोड ग्रस कलेक्सन गर्नुलाई सकारात्मक रूपमा हेरिएको छ।

यता भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को १० दिनमा ८५ लाख ९५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मले आइतबारसम्म २४ हजार ४८३ वटा टिकट बिक्री गराएको छ।

यस वर्षको ब्लकबस्टर फिल्म ‘गौँथली’को व्यापार भने तेस्रो सातामा पनि २६ करोड पुगेको छैन। अघिल्लो हप्ता नै २५ करोड माथिको व्यापार गरेको थियो। साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले ५९ दिनमा २५ करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 

साथै यो फिल्मलाई हिजोसम्म ९ लाख ४० हजार ५६२ जनाले हेरेका छन्। डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको यो फिल्म २५ वर्षअघि पनि गीति कथामा निर्माण भएको थियो। त्यो बेलामा यो फिल्म असफल बनेको त्यति बेलाका फिल्मकर्मीहरू बताउँछन्।

अघिल्लो साताबाट नै दुई फिल्म ‘मास्टर्नी’ र ‘हली’हलबाट उत्रिसकेका छन्। 

कुन फिल्ममा को छ?
नीता ढुङ्गानाको मुख्य भूमिका रहेको फिल्म ‘पार्वती’मा अशोक दर्जी, दिप्प प्रकाश अधिकारी, राज पंगेनी, सिरु विष्ट, दीपाश्री निरौला, राधिका कँडेल, लगायतको मुख्य भूमिका रहेको छ। यस फिल्मको लगानीकर्ता युवा ज्योतिष हरिहर शर्मा हुन्।

भदौ १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)लाई अविनाशविक्रम शाहले लेखेका हुन् भने निर्देशन पनि उनैको छ। फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन्। गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, अशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्की लगायतको अभिनय छ।

जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ, निर्माता रहेको फिल्ममा अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेका छन्।

साथै साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’मा भने अरुण क्षेत्री, सिम्रन खड्काको मुख्य भूमिका रहेको छ। उनीहरू बाहेक अन्य कलाकारमा लुभिना तुलाधर,प्रकाश घिमिरे,सीतादेवी तिमल्सेना लगायतको छ। डाक्टर भोला रिजालको कथा रहेको यस फिल्मको निर्मातामा निर्देशक कपिलका अलावा सुमन गिरी पनि रहेका छन्।
 
यहीँ शुक्रबारबाट दुई वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। दिव्या रायमाझी अभिनीत फिल्म ‘बेहुली’ र दयाहाङ राई अभिनीत ‘पेन्सन पट्टा’यस फिल्मको ग्रस कलेक्सन कति भयो भन्ने कुरामा भने अर्को सोमबारसम्म कुर्नुपर्ने हुन्छ। यस फिल्मलाई अभिनेता माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका हुन्।

भदौ २९, २०८३ सोमबार १८:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।